बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो एकाएक भाइरल भयो । भिडियोमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र ट्राफिक प्रहरीबीच वादविवाद गरिरहेको देखिन्थ्यो । अध्यक्ष लम्सालले मापसे गरेर ट्राफिक प्रहरीलाई धम्क्याएको र शक्ति देखाउन खोजेको भन्दै भिडियो प्रचार गरियो । भिडियो बाहिरिएपछि आलोचनाको शिकार बनेका लम्सालले हिमालय पोष्टसँग उक्त घटनाको विवरण यसरी सुनाए :


ADVERTISEMENT


जुन भिडियो बाहिरिएको छ, त्यो सुनियोजित रुपमा गरिएको आक्रमण हो । यो घटनामा कस्तो नियतका मान्छे मुछिएका छन् भन्ने स्पष्ट नै छ । यसको कथा पहिले बुनिएको छ र त्यसपछि घटना घटेको छ भन्ने मलाई लाग्छ । घटनाको पृष्ठभूमि के हो भने बानेश्वरमा आईप्लेक्स मलकाे पछाडिपट्टी पञ्चकुमारी मन्दिर जाने बाटोको अलि अगाडि मेरो घर रहेको छ।


ADVERTISEMENT

# # #


आईप्लेक्स मल र रेस्टुरेन्टहरुको आफ्नै पार्किङ क्षेत्र छैन । आम मान्छेले बाटोमा नै पार्किङ गर्ने भएकाले त्यहाँबाट आवत जावत गर्न धेरै गाह्रो भइरहेको अवस्था छ । पैदल यात्रीले निकै सास्ती भोगेका छन् । अर्कोतिर आईप्लेक्स मल र रेस्टुरेन्टहरुका ग्राहकले बाटोमा जथाभावी पार्किङ गरिदिँदा छेउछाउका अरु पसलमा मान्छेहरु जाने ठाउँ पनि छैन । उनीहरुको व्यापार घटिरहेको छ । गाडी र वाइकवाला यात्रुहरुलाई चोकसम्म पुग्नलाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । रेस्टुरेन्टहरु र आईप्लेक्स मलकै कारणले त्यहाँ दैनिक जाम हुने गर्दछ ।

यसका बारेमा मैले प्रहरीसमक्ष पटक पटक कुरा पनि उठाएको थिएँ । तर, त्यहाँबाट पार्किङ हटेन । यसको पछाडि ट्राफिक प्रहरीलाई कुनै न कुनै अनुचित लाख भइरहेको छ भन्ने आशंका थियो ।

अस्ति मंगलबार घर आउँदै गर्दा दोहोरो पार्किङले गर्दा मेरो गाडी छिर्न मुस्किल भइरहेको थियो । अलि अगाडि आउँदा बीचमा अर्को एउटा मोटरसाइकल पनि रहेछ । त्यो मोटरसाइकल नहटाउने हो भने गाडी नछिर्ने भएपछि मैँले मोटरसाइकलवालालाई बाटो खाली गर्न भनेँ । तर, मोटरसाइकलपछाडि बसेको मान्छे रक्सी खाएको रहेछ । उसले मुख छाडिरहेको थियो । ३–४ मिनेट पर्खिनुपरेपछि मेरो पछाडि जाम बढ्यो ।

त्यसपछि म झरेरै त्यो बाइक सारेँ । त्यतिबेलासम्म पछाडि ट्राफिक आएछ । मोटरसाइकल त्यहाँ बाट गइसकेको थियो । मेरा कारणले जाम भएको भन्ने ट्राफिकको बुझाई रहेछ । म पनि अघि बढ्दा घरको गेट नजिक आएर ट्रफिक आएर सिटी बजायो । सिटी बजाएपछि त्यहाँ पार्किङमा राखेका सवारीधनीहरु सडकतिर आए । ट्राफिकसँगै रेस्टुरेन्टवालाहरु मेरो घरभित्र छिरे । ट्राफिकले मसँग लाइसेन्स माग्यो । मैँले लाइसेन्ट किन दिने भनेपछि तँ को होस् भन्दै ट्राफिकले अभद्र व्यवहार गर्यो । उसँगै गएकाहरुले भिडियो खिचखिच भने र मोबाइलको बत्ती बालेर भिडियो खिच्न थालेपछि मैँले अर्काको घरभित्र आएर भिडियो खिच्ने भन्दै प्रतिकार गरेको हुँ ।

पार्किङका विषयमा सँधै आवाज उठाइरहेको कारण आईप्लेक्स मल र रेस्टुरेन्टहरुको म आँखाको तारो भइरहेको थिएँ । प्रहरीले पनि मल र रेस्टुरेन्टसँग मोटो रकम लिइरहेको कारण मेरो आवाज रुचाएको रहेन छ भन्ने अहिलेको घटनापछि थाहा भयो । प्रहरीले घटाउने घटना कस्तो हुन्छ भनेर मैले बताइरहन पनि नपर्ला । नभए प्रहरी मेरो घरभित्रै छिरेर तथानाम गरेर गालीगलौजमा उत्रने एउटाले मोबाइल बाल्ने अर्कोको भिडियो बनाउने जस्ता हर्कत गर्ने कुरा नै हुँदैनथ्यो । मोटो रकम लिएर पार्किङबाट कमाइरहेको प्रहरीलाई मसँग रिसीबी रहेछ भन्ने लुकाउनुपर्ने कुरा नै रहेन ।

प्रहरीले कसरी काम गर्छ भन्ने कुरा आम जनतालाई पनि राम्ररी थाहा नै छ । विभिन्न घटनाका प्रमाणहरु लुकाउने, छिपाउने र पैसामा डिल गर्ने गरेको धेरै प्रमाणहरुकाबारे हामी पत्रकारले नै लेखिरहेका हुन्छौं । मैले पनि यस्ता कुरा लेखेको छु र जनतालाई सुसूचित गराएको छु । प्रहरीहरु यसबाट रिसाउने नै भए । दुश्मनकै व्यवहार गर्ने पनि धेरै छन् । यसमा पनि बिल्ला लगाएर बसेको प्रहरी लुकेर सानो प्यूसोलाई खटाइएको हो । नभए लामो समय पत्रकारिता गरेको ममाथि यसरी प्रहरीको साना दर्जाको कर्मचारीले त्यस्तो व्यवहार गर्न सम्भव नै छैन ।

प्रहरीमा मेरा पनि राम्रा सम्बन्ध भएका अफिसरहरु प्रशस्त नै छन् । साना दर्जाका प्रहरीहरुलाई घरभित्र पसेर मेरो चरित्रहत्यासम्म गर्न सक्रिय हुने आँट सजिलै आउँछ भन्ने मलाई लाग्दैन । यो त सिकाएर पठाएको कारण गर्न सकेको हो । नभए साना दर्जाका प्रहरी कर्मचारी विना पूर्जी घरभित्र छिर्ने काम कहिले पनि गर्दैनन् । यो कुरामा म प्रष्ट छु । अपराध रिपोर्टिङ पनि गर्ने भएकाले पहिलेदेखि नै मेरो प्रहरीसँग राम्रो र नराम्रो दुवैखाले सम्बन्ध हुनु स्वाभाविक हो । कति प्रहरीहरु मसँग रिसाएका पनि छन् भन्ने कुरा छिपाउनु पर्दैन । पुराना अफिसरहरुसँग त भनाभन पनि भएको छ । यो सबैलाई थाहा भएकै कुरा हो ।

लामो समय पत्रकारिता गरेको सामाजिक विषयमा आवाज उठाइरहने कारण मलाई रिस गर्नेहरु पनि धेरै छन् । मेरो घरभित्र म जुनसुकै अवस्थामा बस्न सक्तछु । मेरो घरभित्र प्रहरी मापसे चेक गर्न आउन मिल्छ ? घरभित्र आउनको लागि त पूर्जी लिनुपर्ला । कार्यालयका प्रक्रिया पुर्याउनु पर्ला । बर्दी लगाएर जतिबेला पनि गुण्डागर्दी गर्ने छुट प्रहरीलाई छ त ? मन लागेको बेला प्रहरीले एकजना पत्रकारलाई त घरभित्र केरकार गर्न सक्छ भने देशमा कानुनी राज्य छ त ? अरु सामान्य पत्रकारलाई प्रहरीले कस्तो व्यवहार गरिरहेको होला ? उनीहरुलाई कसले सिकाएर पठाएको हो भन्ने पनि मलाई राम्ररी थाहा छ । जनताले शिव लम्साललाई घेरे भन्ने जुन कुरा छ त्यो सरासर गलत कुरा हो । त्यहाँ जनता थिएनन् । त्यहाँ आएकाहरुमध्ये केही आईप्लेक्स मल र रेस्टुरेन्टहरुबाट पालिएका मुन्द्रेहरु हुन् र केही बर्दी नलगाएका प्रहरीहरु हुन् । त्यहाँका वासिन्दा, अन्य ससाना पसल चलाउने, भाडामा बस्नेहरुलाई त म राम्ररी चिन्दछु । तिनीहरु त्यहाँ थिएनन् ।

बाहिरिएको भिडियोका सन्दर्भमा शिव लम्सालमाथि राजनीतिक पूर्वाग्रह पनि राखिएको छ भन्ने लागेको छ । नेपालमा कस्तो खालको पत्रकारिता मौलाउँदै गएको छ भन्ने कुरा प्रेस युनियनको अध्यक्ष भइसकेको नाताले मलाई राम्ररी थाहा नहुने कुरा भएन । तिललाई पहाड बनाएर कसरी भिडियोलाई भाइरल बनाइन्छ भन्ने कुराको जानकारी पनि मलाई छ । कुनकुन संस्थाले कसरी कुन राजनीतिक पूर्वाग्रहले मेरो चरित्रहत्या गर्न खोजेका हुन् भन्ने पनि बुझेको छु । राजनीतिक पूर्वाग्रह राखेर मलाई सक्न खोजिन्छ भने पछि उहाँहरुको पनि पालो आउँछ भन्ने कुरा उहाँहरुले बिर्सनु हुँदैन । प्रहरीले ममाथि दुर्व्यवहार गर्दैगर्दा उहाँहरु खुशी भइराख्नुभएको छ । त्यही प्रहरीले भोलिका दिनमा तपाईंलाई पनि दुर्व्यवहार गर्न सक्तछ भन्ने कुरा बिर्सनु हुँदैन ।

(लम्सालसँग गरिएको कुराकानीमा आधारित)