एकिकृत राप्रपा राष्ट्रवादीका नेता तारानाथ लुईंटेल : 


ADVERTISEMENT


देश संघियतामा गइसकेर निर्वाचन पनि भइसक्दा तपाईहरु हिन्दू राज्य र राजासिहतको राजसंस्थाको माग गरिरहनु भएको छ नि ?


ADVERTISEMENT

# # #


हामी पहिलेदेखि नै यसको पक्षमा रहँदै आएका छौँ । नेपालमा यसको आवश्यकता नै थिएन । ९० प्रतिशत ओमकारमा आस्था राख्नेहरु यहाँ छन् । तर पश्चिमी राष्ट्रको दबाब र केही नेताको स्वार्थपूर्तीको लागि यो भएको हो । हिन्दू राज्य हुँदा के बिग्रको थियो ? जनताहरु त मिलेरै बसेका थिए नि । राजा हटाएर दुई चार नेताले सुख पाउनु बाहेक जनताले के पाए ? पहिले त एउटा मात्रै राजा थिए । अहिले हेर्नुस् त कती राजा भएका छन् ? हामी राजासहितको प्रजातन्त्रको पक्षमा छौँ । त्यसैले यसलाई फिर्ता ल्याउनका लागि हामी लागि रहेका छौँ ।

तपाईले यो भन्दै गर्दा देश त धर्मनिरपेक्ष राष्ट्र भएर संघियतामा गइसकेको छ । अब राजसंस्था सहितको प्रजातन्त्र सम्भव छ त ?

सम्भव छ । किन नहुनु ? हेर्नुस् विश्वका १५ भन्दा बढी देशमा राजा छन् । ती देशका जनता पनि अरुको जस्तै सुखी र खुसी छन् नि ! तर नेपालमा नेता सुखी छन्, जनता दुःखी छन् । नेपाली जनताको हितमा कसैले ध्यान दिँदैनन् । यहाँ हरेक कुरामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ती गरिन्छ । राजसंस्था रहेन भने यो मुलूकले, जनताले दुःख पाउँछन् । हाम्रो भनाई राजासहितको प्रजातन्त्र मात्र होइन र राजा मियो सहितको प्रजातन्त्र हुनुपर्छ । गणतन्त्र आयो त भनिन्छ तर आज हरेक कुरामा बेतिथि भएरहेको छ । निर्माण कार्य सम्पन्न् भएको एक महिना नबित्दै बाटोको पीच उप्किन्छ । सम्पन्न नहुँदै पुल भत्किन्छ । के यही हो गणतन्त्र ? त्यसैले संघियताको नाममा मुलूकको ढुकुटी रित्याउनु हुँदैन ।

तपाईको संघियताप्रति पनि आपत्ति हो ?

हो, पहिले ६०१ जनालाई तलबभत्ता खुवाउँदा त मुलूकको एक करोड मासिक रुपमा खर्च हुन्थ्यो । अहिले ८५० सांसदलाई भत्ता खुवाउँदा कती भार थपिन्छ ? नेपाली जनताले तिरको करले भ्याउँछ ? कहिलेसम्म नेपाली जनताको पसिनामाथि ऐस आराम गर्ने ? रेमिटेन्सले धानेको यो देशमा कती वर्षसम्म गणतन्त्रका नाममा जनताको खुन चुसिरहने ? त्यसैले यो देशले संघिता थेग्न सक्दैन । विश्व समुदायले नेपाललाई शान्ति क्षेत्र भनिरहँदा आज संघियताका नाममा देशमा अशान्ति फैलाईँदैछ । त्यो रोक्नका लागि पनि राजसंस्था चाहिन्छ ।

भनेपछि, नेपाली जनताका प्रतिनिधिले बनाएको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान तपाईँलाई स्वीकार्य छैन ?

हिन्दू राष्ट्र र राजसंस्था नभएको संविधान हामीलाई चाहिँदैन । त्यसमा केही कुरा राम्रा होलान् । तर हिन्दू राष्ट्र र राजसंस्था नलेखिएको नलेखिएको संविधानको के काम ? नेपालको हावापानी सुहाउँदो, नेपालको भूगोललाई सुहाउँदो, नेपाली जनतालाई स्वीकार्य व्यवस्था नहुने हो भने जबरजस्त लादिएको संविधानको के काम ?

धर्म निरपेक्षका पक्षमा उभिएका अहिले जुन किसिमका दलहरु छन । तिनीहरुप्रति तपाईको धारणा के हो ?

हेर्नुस्, यो देशको सबैभन्दा पूरानो पार्टी कांग्रेस । २००७ सालदेखि अहिलेसम्म नेपाली जनतालाई यसले के दियो ? ४६ सालमा स्थापना भएको एमालेबाट जनताले के पाए ? सर्वहारा वर्गको नेतृत्व गर्छौँ । यो मुलूकमा कम्युनिस्ट ल्याउँछौँ, नौलो जनवाद ल्याउँछौँ भन्नेहरु कहाँ गए ? ४४ वटा प्रधामन्त्री उनीहरुका भइसके । राष्ट्रपति उनीहरुका भइसके । तर एक दुई नेता बाहेक जनताले के पाए ? बन्दूकको नालबाट सत्ता परिवर्तन गर्छु भनेर जनआन्दोलन सुरु गरेको माओवादीले आज के दियो ? झन १० वर्ष मुलूकलाई पछाडी धकेल्यो । भएका भौतिक संरचनाहरु ध्वस्त पारेर १७ हजार निर्दोष नेपालीको ज्यान मात्र लियो । आयातित धर्मले नेपाली जनतालाई विभाजनतिर लैजादैछ । त्यस कारण जनताले अहिले हिन्दू राज्य र राजसंस्थाको जोडदार माग गरिरहेका छन् ।

अहिले पनि करिब ९० प्रतिशत जनता ओमकार परिवारमा भएपनि नेपालमा क्रिश्चयन किन हावी भइरहेको छ लाग्छ । यसलाई रोक्नका लागि तपाईको पार्टीको रणनीति के छ ?

यसमा हाम्रो पार्टीको धारणा के छ भने हामी धार्मिक स्वतन्त्रतासहितको हिन्दू राज्यको पक्षमा छौँ । हामी कसैको धर्मप्रति अवहेलना गर्न चाहान्नौँ । सबै धर्मप्रति हाम्रो सम्मान छ । तर एक धर्मको अर्को धर्मसंगको झगडा पािर्ने काम हामीलाई सह्य हुँदैन । यसउलाई रोक्नुपर्छ । कोही बसैलाई प्रलोभनमा पारेर जबरजस्त धर्म परिवर्तन गर्न पाईँदैन । हाम्रो पार्टीको एजेण्डा यही हो । त्यसैले संविधानमा सनातन हिन्दू राज्य राख्नुपर्छ भन्ने हाम्रो माग हो ।