काठमाडौं – नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव र नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी जिल्लामा दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरे ।
यी दुई परियोजनामा नेपाल पुलिस स्कुलका लागि निर्मित विद्यालय भवन, छात्रावास भवन तथा खेलकुद मैदान र महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन रहेका छन् ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु ४ करोड ८९ लाखको लागतमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन गरेको हो ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सुनसरी जिल्लाका १२ गरी प्रदेश नं १ मा ८० वटा रहेका छन् ।
भारत र नेपालबीच बहुआयमिक एवम् बहुपक्षीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी परियोजनाहरुको कार्यान्वयनले सामाजिक–साँस्कृतिक पूर्वाधार तथा जनता–जनताबीचको सम्बन्धको विकासमा भारत सरकारले पुर्याउँदै आएको सहयोगलाई प्रतिबिम्बित गर्दछ ।