काठमाडौं – नेपाल मेडिकल कलेजले शैक्षिक सत्र २०२२ मा भर्ना भएका विद्यार्थीहरुलाई आज भव्य स्वागत गरेको छ । चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षा पास गरी कलेजमा भर्ना हुन आएका एमविविएस, विडिएस, विएस्सी नर्सिङ तहका विद्यार्थीलाई कलेजले स्वागत गरेको हो ।


ADVERTISEMENT


कलेजका अध्यक्ष डा भोला रिजालको प्रमुख आथित्यमा भएको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्राडा राजेन्द्र कोजू विशिष्ट अतिथि रहेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा रिजालले नेपालको मेडिकल शिक्षामा एनएमसीको महत्वपूर्ण योगदान रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा पनि योगदान पुर्याएको चर्चा गरे । एनएमसीमा पढेका दक्ष जनशक्तिहरु अहिले संसारभर पुगेको बताउँदै डा रिजालले विद्यार्थीहरुको सफलतामा कलेजले गर्व गरेको जिकीर गरे । नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै डा रिजालले महाकवी लक्ष्मी प्रसाद देवकोटाको कविता यात्रीको अंश प्रस्तुत गर्दै दुःखी र रोगीहरुको सेवा भन्दा ठूलो पुन्य केही नहुने बताए । कलेज स्थापना गर्दा नगरबासीले दिएको साथ र सहकार्यको प्रशंसा गरे ।

कार्यक्रमका विशिष्ट अतिथी काठमाडौं विश्वविद्यालयका डिन प्राडा राजेन्द्र कोजूले नेपालको मेडिकल शिक्षामा एनएमसीको योगदानको चर्चा गर्दै नव आगन्तुक विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गरी देश सेवामा लाग्न सल्लाह दिए । विरामीको सेवा गर्नु जस्तो उत्तम कार्य अरु केही नभएको पनि बताए ।

यस्तै कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले नगरबासीका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रममा नगरपालिका मेडिकल कलेजसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको बताए । नगरपालिकाले नगरका नागरिकको स्वास्थ्य उपचारका लागि कलेजसँग सहकार्य गर्ने निर्णय नै गरेकाले कलेजसँग समन्वय गर्न चाहेको बताए । ‘हामी कलेजसँग महिलाहरुको पाठेघर समस्या लगायतका विषयमा सहकार्य गरेर अगाडी बढ्न चाहन्छौं ।’ उनले भने । स्वास्थ्य र शिक्षामा नगरमा कुनै राजनीति नगर्ने बताउँदै मेयर रिसालले स्थानीयलाई केही सहुलियत दिन भन्दै बरु नगरपालिका त्यसका लागि सहयोग र समन्वय गर्न तत्पर रहेको जनाए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका निवर्तमान सांसद तथा मन्त्री रामेश्वर फुँयालले गोकर्णेश्वर नगरको विकासका लागि तीनै तहका सरकार एक भएर अगाडी बढेको चर्चा गरे । नगरको स्वास्थ्यमा सुधार ल्याउन एनएमसीको योगदानको चर्चा गर्दै दिगो रोजगारमुखी, सम्पदामुखी विकासमा सहकार्य गरेर अगाडी बढन आग्रह गरे । साथै, उनले राष्ट्रिय सवालमा दलहरु मिलेर काम गर्ने पनि बताए ।

गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले कलेजलाई जुन डाक्टरको बोर्डमा नाम छ त्यही डाक्टर भेट्ने वातावरण बनाउन आग्रह गरिन् । ‘अन्य अस्पतालहरुमा बेड नपाउँदाको अवस्थामा घर अगाडीको अस्पतालमा बिरामी नभएर वेड खाली हुँदा दुखः लाग्छ । यसको सेवाहरु सुधार गरेर जनतालाई राम्रो स्वास्थ्य सेवा दिन सबै लाग्नुपर्छ ।’ उपमेयर लामाले भनिन् ।

कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन आफुहरु लागि परेको बताए । आउँदा दिनहरुमा नेपाल मेडिकल कलेजमा मिर्गौला, कलेजो प्रत्यारोपणका सेवाहरु समेत स्थापना गर्ने जनाए । आगामी २ वर्षभित्र नेकपा मेडिकल कलेजलाई नेपालकै नमूना स्वास्थ्य संस्था बनाउने प्रतिबद्धता गरे । ‘हामीलाई २ वर्षको समय चाहिन्छ, अहिले आर्थिक समस्या छ तर, हामीले गरेका प्रतिबद्धता पुरा गरेरै छाड्छौं ।’ अन्सारीले भने ।

उनले स्थानीय जनता र स्थानीय तहसँग सहकार्य गरेर स्वास्थ्य सेवाको विकासका लागि काम गर्न कलेज प्रतिबद्ध रहेको पनि प्रष्ट्याए । स्वास्थ्य क्षेत्रलाई सुधार्न आफुलाई सबैले साथ र हौसला दिएको प्रति धन्यवाद पनि दिए ।

कार्यक्रममा कलेजकी बोर्ड सदस्य डा साविया यासमिनले काम गर्दै जाँदा कहिले काँही त्रुटीहरु भएपनि त्यसलाई सुधार गरेर जाने बताइन् । स्वास्थ्य सेवाका सन्दर्भमा नागरिकहरुले औल्याईदिएका विषयहरु हल गर्दै कलेजलाई नमुना मेडिकल कलेजको रुपमा स्थापित गर्न इमान्दारिताका साथ लाग्ने पनि जनाइन् ।

कार्यक्रममा कलेजका सञ्चालक समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । साथै, नवप्रवेशी विद्यार्थीहरुको स्वागतार्थ कलेजमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि गरेका थिए ।