काठमाडौं-प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित सदस्यमध्ये महिलाको हिस्सा जम्मा ३.६४ प्रतिशत छ । १ सय ६५ सिटका लागि दुई चरणमा भएको चुनावबाट जम्मा ६ जना महिला प्रतिनिधिसभा सदस्य चुनिएका छन् ।


ADVERTISEMENT


राजनीतिक दलले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार नबनाउँदा कम महिलाले मात्र चुनाव जितेका हुन् । पछिल्लो १० वर्षमा पहिलो संविधानसभादेखिको प्रत्यक्ष चुनाव जित्ने महिलाको अवस्था हेर्दा यसपटक सबैभन्दा कम छ । पहिलो संविधानसभामा २९ महिलाले र दोस्रो संविधानसभामा १० जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेका थिए । पहिलो र दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ २ सय ४० सिटमा चुनाव भएको छ ।


ADVERTISEMENT

# # #


संविधानअनुसार राष्ट्रियसभा र प्रतिनिधिसभासहितको संघीय संसद्का कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्छ । दलहरुसँग यो प्रतिशत पु¥याउन अब संविधानसभामा समानुपातिक र राष्ट्रियसभाको निर्वाचन विकल्प छन् ।प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चुनाव जित्ने महिलामा नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र बिना मगर छन् । त्यसैगरी नेकपा एमालेबाट पवित्रा निरौला, पद्मा अर्याल र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल छन् ।

भुसाल ललितपुर ३ बाट, रोका पूर्वी रुकुमबाट, मगर कञ्चनपुर १ बाट, निरौला झापा २ बाट, अर्याल स्याङ्जा २ बाट र पौडेल प्युठानबाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा जम्मा १ हजार ९ सय ४५ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये १ सय ४६ जना महिला थिए । ठूला प्रतिस्पर्धी दलले महिला एकदमै कम उठाएका थिए । साना दल, स्वतन्त्र र जित्न नसक्ने स्थानबाट महिला उम्मेदवार बनेका थिए । नेपाली कांग्रेसबाट भने एकजना पनि महिलाले चुनाव जित्न सकेनन् ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २९ जना महिलाले जितेका थिए । नेकपा माओवादीबाट २३ जना, कांग्रेसबाट २ जना, एमालेबाट १ जना, मधेसी जनअधिकार फोरमबाट २ जना, तराई मधेस लोकतान्त्रिक पार्टीबाट १ जना गरी २९ जना प्रत्यक्षतर्फबाट विजयी भएका थिए । दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट ६ जना, एमालेबाट ३ जना र एनेकपा माओवादीबाट १ गरी जम्मा १० जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

प्रदेशसभामा १८ महिला निर्वाचित
प्रदेशसभामा प्रत्यक्ष प्रणालीबाट १८ महिला विजयी भएका छन् । प्रदेशसभामा पनि पुरुषको तुलनामा कम महिलाले उम्मेदवार बन्ने मौका पाएका थिए । प्रदेशसभा सदस्यका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा थिए । तीमध्ये २ सय ४० महिला उम्मेदवार थिए ।

प्रदेशसभामा विजयी हुनेमा नेकपा एमालेबाट काठमाडौं ८ (ख) मा अष्टलक्ष्मी शाक्य, काठमाडौं १० (ख) मा रमा आले, इलाम १ (क) मा खिनु लङ्वा लिम्बु, उदयपुर २ (ख) मा कला घले, महोत्तरी १ (क) मा शारदा थापा, सर्लाही १ (ख) मा बेची लुंगेली, म्याग्दी (ख) मा नरदेवी पुन र बाँके १ (ख) मा आरती पौडेलले जितेका छन् ।

माओवादी केन्द्रको तर्फबाट ललितपुर १ (क) मा लालकुमारी पुन, नुवाकोट १ (क) मा राधिका तामाङ, मकवानपुर २ (क) मा कुमारी मोक्तान, तनहुँ २ (क) मा आशा कोइराला, बाँके १ (क) मा कृष्णा केसी, बझाङ १ (ख) बाट देवकी मल्ल र बारा ३ (क) बाट ज्वालाकुमारी साहले जितेका छन् । त्यसैगरी राजापाबाट महोत्तरी ३ (ख) मा रानीकुमारी तिवारी र महोत्तरी २ (ख) मा सुरिताकुमारी साहले प्रत्यक्षबाट प्रदेशसभामा चुनाव जितेका छन् ।