काठमाडौँ – दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेका छन् । विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुन्छन् । त्यसो त उपभोक्ता पनि स्वयं जागरुक र जिम्मेवार नबन्दा गुणस्तरहीन खाद्यवस्तु र सामग्री उपभोग गरेर कालोबजारी गर्नेलाई बल पुगिरहेको छ ।


ADVERTISEMENT


वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ ।


ADVERTISEMENT

# # #


उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफैँ सचेत नभएसम्म बजारमा उपभोग्य सामग्रीको महँगी र कालोबजारी नियन्त्रण नहुने बताउँछन् । उनी भन्छन्, “उपभोक्ताको मुहार हेरेर व्यापारीले मूल्य निर्धारण गर्छन् । अनुगमनकारी निकाय मूकदर्शक बनरिहेको अवस्था छ, त्यसैले व्यवसायीलाई अनुशासित तुल्याएर उपभोक्ता मैत्री नबनाएसम्म बजार स्वच्छ रहन सक्दैन, त्यसमा उपभोक्त स्वयं पनि जागरुक र जिम्मेवार बन्न जरुरी छ ।”

‘चाडपर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षा’ विषयमा सञ्चार केन्द्र नेपालले आज आयोजना गरेको अन्तक्र्रियामा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले बजारमा समग्र वस्तुको मूल्यवृद्धि भएको भन्दै उपभोक्तालाई अनुभूति हुनेगरी बजार अनुगमन हुन नसकेको बताए।

दसैँ, तिहारललगायत पर्वमा मात्र नभई बजार अनुगमनलाई निरन्तर अभियानका रूपमा सञ्चालन गरिनुपर्ने उनको धारणा छ । “बजारको प्रभावकारी अनुमगन हुन सकेको छैन । व्यापारीले उपभोक्तालाई चर्को मूल्यमा वस्तु तथा सामग्री खरिद गर्न बाध्य तुल्याइरहेका छन् । खाद्य उपभोग्य वस्तुमात्र नभई चाडपर्वमा गाउँघर जाने यात्रुलाई सडक तथा हवाई यातायातमा महँगो भाडाले पिरोलेको छ ।”

चर्को मूल्य तिरेर भए पनि उपभोक्ताले सहजरूपमा सेवा पाउन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । महङ्गोमा वस्तु तथा सामान खरिद गर्दा गुणस्तरीय सामान पाउन उपभोक्तालाई मुस्किल छ । विद्यमान अनुगमन प्रणालीमा विशेषज्ञसहितको अनुगमन नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि नै जोखिमको सम्भावना बढेको छ ।

आपूर्ति सहज र सुरक्षा सुदृढ

उपभोक्ता अधिकारकर्मीले प्रभावकारी बजार अनुगमन नभएको गुनासो गरिरहँदा सरकारी निकायले भने दैनिक उपभोग्य बजारको प्रभावकारी अनुगमन गरी आपूर्तिलाई सहज बनाउन र शान्ति सुरक्षा कायम गर्न सक्रिय ढङ्गले लागेको बताएमने छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले आपूर्ति सहज गरी उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण तथा सामग्रीको गुणस्तर कायम गर्न सरोकारवाला निकाय समन्वयात्मक ढङ्गले सक्रियरूपमा परिचालन भएको बताए । उनले आपूर्ति सहजीकरणसँगै मूल्यवृद्धि नियन्त्रण, बजारमा शान्ति सुरक्षा कायम गर्न तथा गन्तव्य पुग्ने यात्रुको सवारीसाधन व्यवस्थापनमा आफू लागिपरेको बताए ।

प्रजिअ उपाध्यायले भने, “नागरिकको सेवालाई चुस्तदुरुस्त बनाउन र उपभोग्य वस्तुको मूल्य स्थिर र गुणस्तरीय खाद्य सामग्री सुनिश्चित गर्न वाणिज्य विभाग क्रियाशील भएर लागेको छ । चाडपर्वलक्षित शान्ति सुरक्षा योजना कार्यान्वयनमा आएको छ । चारवटै सुरक्षा निकायसँग समन्वय गरी एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।”

बजार अनुगमनको नेतृत्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको र त्यसलाई सहजीकरण गर्न आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले गरेको उनले जानकारी दिए ।

चाडपर्व केन्द्रीय सुरक्षा योजना कार्यान्वयनमा

दसैँ, तिहार, छठलगायत चाडपर्वमा हुने सम्भावित जोखिम नियन्त्रण गर्न र शान्ति सुरक्षालाई चुुस्तदुरुस्त बनाउन चाडपर्व केन्द्रीत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रजिअ उपाध्यायले जानकारी दिए । चारवटै सुरक्षा अङ्गको समन्वय गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।

यसका साथै काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ । साथसाथै, सडकका खाल्डा पुर्ने तथा सरसफाइ कार्यका लागि सरोकारवाला निकायको सहकार्यमा काम भइरहेको छ ।

सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिबीच छलफल गरी चाडपर्व लक्षित १६ बुँदे निर्णय कार्यान्वयनमा ल्याइएको प्रजिअ उपाध्यायले जानकारी दिए । चोरीलगायत घटनामा तत्कालै सम्बोधन हुनेगरी संयन्त्र परिचालन गरिएको छ । सम्भावित विपद्जन्य घटनाको तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ । नयाँ बसपार्कमा अलपत्र परेका करिब एक हजार यात्रुलाई आज मयुर यातायातका बसमार्फत गन्तव्यमा पठाइएको उनले जानकारी दिए ।

प्रभावकारी अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले बजारको अनुगमनलाई प्रभावकारी बनाइएको बताए । विभागले चाडपर्वमा मात्र नभई निरन्तर अनगुमन कार्य गर्दै आएको उनले जानकारी दिए ।

महानिर्देशक भट्टराईका अनुसार अहिले दैनिक ५० भन्दा बढी निकायको अनुगमन भइरहेको छ । चालू आर्थिक वर्षमा विभागले तीन हजार ६०० निकायको अनुगमन गर्ने लक्ष्य लिएको छ । महिनाको तीन सयका दरले अनुगमन भइरहेको र साउन र भदौ दुई महिनामा मात्रै चार सय ५० भन्दा बढी निकायमा अनुगमन गरिएको छ ।

विभागको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन र खाद्य सामग्रीको गुणस्तर पहिचान गर्न विज्ञसहितको जनशक्ति आवश्यक रहेको भन्दै त्यसतर्फ पनि समन्वयका साथ काम भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिए । उनले भने, “सङ्ख्यात्मक भन्दा पनि गुणात्मक अनुगमनलाई ध्यान दिएका छौँ । कानून उलङ्घन गर्ने र उपभोक्ताको हकहितविरुद्ध हुने गतिविधिलाई कानूनी दायरामा ल्याउँछौँ ।”

विभागको अभियान

‘जागरुक उपभोक्ता ः जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ विभागले उपभोक्ता हित संरक्षण अभियान चलाएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो । प्रवाह गर्नु बिक्रेताको कर्तव्य पनि हो भने बिना भेद्भाव वा सेवा खरिद गर्न पाउनु उपभोक्ताको अधिकार हो । बिक्रेताले आफूले प्रदान गर्ने वस्तु वा सेवाको नाम र सोको मूल्यसूची स्पष्टरूपमा सबैले देख्ने ठाउँमा राख्नु बिक्रेताको कर्तव्य रहेको विभागले सचेत गराएको छ ।

खरिदबिक्री गरिने वस्तुमा उत्पादन मिति तथा उपभोग्य मिति उल्लेख छ/छैन ख्याल गर्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने औँल्याइएको छ । बजारमा कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना गर्नु र खाद्य पदार्थलाई आकर्षक बनाउन अखाद्य पदार्थको प्रयोग गर्नु कानूनबमोजिम दण्डनीय अपराध हो ।

चौध सहायता कक्ष स्थापना

काठमाडौँबाट बाहिरिने यात्रुको सहज व्यवस्थापन र गुनासो तत्कालै सम्बोधन गर्न सरोकारवाला निकायको समन्वयमा विभिन्न स्थानमा १४ वटा सहजीकरण कक्ष स्थापना गरिएको र यात्रुले कुनै गुनासो मर्का परे तत्कालै सम्बोधन गर्ने गरी प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ । चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिम रोक्न ‘टाइम कार्ड’ लागू गरिएको तथा चाडपर्वमा मात्र नभई बजारमा भएका अन्य समस्याको समाधान गरी उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सबै संयन्त्र सक्रियरूपमा परिचालन भएको प्रजिअ उपाध्यायले बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चाडपर्वका बेला मात्र नभई वर्षभरि उपभोग्य बजारको अनुगमन गरी सही र सन्तुलित समाचार सम्प्रेषण गर्नु सबै सञ्चारकर्मीको दायित्व भएको बताए । उनले जनतालाई सहज ढङ्गले उपभोग्य वस्तुको सुनिश्चितताका लागि विभाग, प्रशासनलगायत निकाय बढी सक्रिय हुनुपर्ने धारणा राखे।

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द्रप्रसाद चौलागार्इंले प्रभावकारी बजार अनुगमन र महँगी नियन्त्रण्मा सरोकारवाला निकाय सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए । रासस