धनगढी– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ धनगढी पुगेका छन् । गृह जिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवासमा पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले आज देशका विभिन्न ठाउँका चुनावीसभालाई सम्बोधन गरेका थिए । उनले बुधबार डडेल्धुरामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार रहेका छन् । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।
यस्तै उनले भोलि नै बैतडी, बिहीबार अछाम र कञ्चनपुर जिल्लामा हुने चुनावीसभामा सहभागी हुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री यही कात्तिक १७ गते सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका लोकतान्त्रिक–वाम गठबन्धनका चुनावीसभामा सहभागी भई कात्तिक २४ मा काठमाडौँ फर्किएका थिए ।