काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुले मंगलबार रसुवागढी नाकाको अवलोकन गरेका छन् ।


ADVERTISEMENT


नेपाल र चीन जोड्ने मितेरी पुलमा पुगेर ओलीसहित एमाले नेताहरुले रेल आउने बाटोको अवस्थाबारे जानकारी लिएका हुन् । यही नाका भएर चिनियाँ रेल नेपाल प्रवेश गर्दैछ ।


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, सचिव शंकर पोखरेललगायत नेता हेलिकप्टर चढेर मंगलबार दिउँसो रसुवागढी पुगेका थिए । रसुवागढी नाका अवलोकन भ्रमणपछि एमाले नेताहरु रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ को टिमुरे बजारमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गरिने बताए । चीनले पनि यो नाकालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरिसकेको छ ।

रसुवागढी–काठमाडौं, पोखरा–लुम्बिनीसम्म जोडिने रेलमार्गलाई जतिसक्दो छिटो विस्तार गर्ने भन्दै ओलीले गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ रसुवागढी सडकलाई चार लेनको बनाउने घोषणा पनि गरे ।

उक्त सडकमार्ग अहिले दुईलेनको रुपमा निर्माण जारी छ । प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट निर्वाचित ओलीले भूकम्पले क्षति पुर्‍याएको रसुवाको लाङटाङ क्षेत्र पुनर्निर्माण तत्काल गर्ने भन्दै दुर्गम जिल्लाको रुपमा रहेको रसुवालाई पर्यटन, जलविद्यु्त् र जडिबुटीको माध्यमबाट विकास र समृद्ध बनाउने बताए ।

रसुवागढी नाकामा एकीकृत भवन निर्माणलाई गति दिन आफूले कानुनी अड्चन फुकाउन पहल गर्ने पनि ओलीको भनाइ छ ।