दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक सांसद् बनेका छन् ।


ADVERTISEMENT


उनी यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ २ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


ADVERTISEMENT

# # #


पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित भए  । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ १ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गरेका छन् । यसका लागि पौडेलले नेकपा (एमाले)का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गरे ।

कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरे ।

जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताएका छन् । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी भएका थिए ।

पौडेल २०४८ सालमा तनहुँ १ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् ।

उनले सभामुखको जिम्मेवारी पनि निभाए । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।

जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक÷एक प्रदेशसभामा विजयी हासिल गरेका छन् ।

नेपाली कांग्रेसले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा विजयी भएको छ । साथै, निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भए । श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान विजयी भए । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गरे छ ।

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित भए। महतले १५ हजार छ सय ६५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गरे । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी भए । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।

तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी भए । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरे ।