काठमाडौं(रासस)-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खङ्गबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवा सम्बन्धमा रु १० लाख घूस मागेको अभियोगमा आयोगले प्रक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


म्यानपावर कम्पनीको कामकाज तथा बैंक खातासमेत विभागबाट रोक्का राखेको सम्बन्धमा कम्पनीका तर्फबाट सर्वोच्च अदालमा मुद्दा दायर भई रोक्का फुकुवा गरी नियमानुसार काम गर्नुपर्नेमा सेवाग्राहीसँग घूस मागेको आयोगको ठहर छ ।

आयोगको टोलीले शाखा अधिकृत पौडेल र नासु केसीलाई पहिले पक्राउ गरेको थियो भने महानिर्देशक पाण्डेलाई विभाग परिसरबाटै पक्राउ गरेको थियो । आयोगले जनही रु १० लाख बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

आयोगले सिँचाइ डिभिजन कार्यालय कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेलले सेवाग्राहीसँग रु ५० हजार घूस लिँदालिँदै केही दिनपहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।