काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ वा स्पोट फिक्सिङ (खेल मिलेमतो)को जानकारी भए उजुरी दिन आह्वान गरेको छ ।


ADVERTISEMENT


प्रतियोगितामा म्याच फिक्सिङ, बेटिङ (सट्टेबाजी) भइरहेको आरोप लागिरहेका बेला क्यानले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रमाणसहित आउन प्रतियोगिताको एन्टी करप्सन यूनिट (एसीयू)मा उजुरी गर्न आग्रह गरेको हो । विज्ञप्तीमा क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले म्याच फिक्सिङ भइरहेको भनेर नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुर्याउने गरी भ्रामक सूचना फैलाइएको समेत दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले जारी विज्ञप्तीमा भनेका छन्, ‘यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करप्सन यूनिट (एसीयू)मा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ ।’

साथै कार्यवाहक सचिव मल्लले मिथ्या तथा भ्रामक सूचना नफैलाउन समेत आग्रह गरेका छन् ।

प्रतियोगितामा म्याच तथा स्पोट फिक्सिङ भइरहेको भन्दै क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिनाले मंगलबार सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्दै प्रतियोगिता छाडेको बताएका थिए । यस्तै प्रतियोगिताको एउटा टिम काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि खेलपछिको पत्रकार सम्मेलनमा मंगलबार आफ्नो टोलीका एउटा खेलाडीलाई म्याच फिक्सिङको लागि प्रस्ताव आएको खुलासा गरेका थिए ।

लगत्तै गृहमन्त्री रवि लामिछानेले आवश्यक अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई निर्देशन दिएका थिए । भारतीय विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टर्सलाई प्रतियोगिता सञ्चालन गर्न दिएको, भारतमा प्रख्यात सट्टवाज कम्पनी वन एक्स बेटको भगिनी संस्था वन एक्स ब्याटलाई प्रमुख प्रायोजक बनाएको, खेलाडीको पारिश्रमिक नदिएको भन्दै क्रिकेट सरोकारवालाले चौतर्फी प्रश्न उठाउँदै आएका छन् ।