काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराएका थिए ।


ADVERTISEMENT


प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री दाहालले सिङ्गो प्रतिनिधिसभाको समर्थन आफूले पाउने विश्वास व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको बताएका थिए । प्रधानमन्त्री दाहाललाई समर्थन गर्ने सम्पूर्ण दलहरुले विश्वासको मत दिने निर्णय गरेका छन् ।

प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एकीकृत समाजवादी)का १०, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक सांसद् छन् ।

एकीकृत समाजवादीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । समाजवादीको आज बसेको सचिवालय बैठकले शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् । सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।