काठमाडौँ – उच्च अदालत पाटनले नाबालिका बलात्कारको अभियोगमा थुनामा रहेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।


ADVERTISEMENT


इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको छ । उनी भाग्न वा पीडितलाई हानी पुर्याउन वा मुद्दाका प्रमाण नष्ट गर्न नसक्ने अवस्थामा रहेको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो । हाल केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका सन्दीप धरौटी रकम बुझाए उनी भोलि नै रिहा हुनेछन् । यद्दपि उनी विदेश भने जान पाउने छैनन् ।


ADVERTISEMENT

# # #


अदालतको आदेशमा भनिएको छ, ‘फौजदारी न्यायशास्त्रको मान्यता अनुसार अभियुक्तलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्न दिनु उपयुक्त हुने अवस्था देखिएकोमा थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने हुन्छ । यसपरिप्रेक्ष्यमा माथि उल्लेख गरिएको आधार र कारणहरुको परिप्रेक्ष्य र प्रस्तुत घटना र घटनापश्चातको श्रृंखलाजन्य परिस्थितिलाई समेत विचार गर्दा यी प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राखिराख्नु उपयुक्त नदेखिएकाले तहाँ अदालतबाट मिति २०७९/०७/१८ मा भएको आदेशलाई बदर गरिएको छ ।’

आदेशमा थप भनिएको छ, ‘उल्लेखित तत्काल प्राप्त प्रमाणहरु र पछि बुझ्दै जाँद प्राप्त हुने प्रमाणहरुको परीक्षण र मूल्याङ्कन गर्दा मुद्दाको फैसला हुँदाका वखत ठहरिए बमोजिम हुने गरी हालको अवस्थामा यी प्रतिवादीसँग कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौट माग गर्नु उपयुक्त हुने यो इजलासको निष्कर्ष छ ।’

जिल्ला अदालत काठमाडौँले गत कार्तिक १८ गते मुद्दाको अन्तिम सुनुवाई नहुँदासम्म सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, सन्दीप पक्षका वकिलले जिल्ला अदालत काठमाडौँको उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाई गर्दै उच्च अदालतले आदेश दिएको हो । सन्दीपका पक्षले पीडित भनिएकी किशोरी नाबालिका नरहेको दाबी गर्दै आएका छन् ।

गत भदौ ५ गते सन्दीपलाई आफूलाई काठमाडौँको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै नुवाकोटकी एक किशोलीले जाहेरी दिएकी थिइन् । भदौ ६ गते केन्यासँगको क्रिकेट सिरिजका लागि नेपाल छोडेका सन्दी उक्त जाहेरीपछि असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । सन्दीप पक्षका वकिलले पीडित भनिएका किशोरी नाबालिका नरहेको दाबी गर्दै आएका छन् । पीडितको उमेर यकिन गर्न काठमाडौँ जिल्ला अदालतले नुवाकोटबाट किशोरीको वास्तविक उमेर खुल्ने जन्मदर्ताको प्रमाणपत्र झिकाएको थियो।

यस्तै पीडित भनिएकी किशोरी जन्मिएको नारायणी अस्पतालबाट प्रमाणपत्र झिकाउन आदेश दिएको थियो । जस अनुसार युवती नाबालिका नरहेको प्रमाण जुटेको सन्दीपका वकिलहरुको दाबी छ ।