काठमाडौं(रासस)-नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो ।


ADVERTISEMENT

# # #


सुवेदी र मगरलाई मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समय अगाडि निर्वाचन भाँड्न विस्फोटक पदार्थ प्रयोग गरेर जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गरेको आरोप छ ।

यस्तै, मंसिर १६ गते उदयपुरगढीको दनुवारबेँसीमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणबहादुर कार्की र उनका सल्लाहकार मीरा कटुवालसहितको टोलीको गाडीलाई लक्षित गरेर एम्बुस विस्फोट गराएर ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर मुद्दा चलाइएको प्रहरीले बताएको छ ।

अब उनीहरुलाई अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।