काठमाडौं-तुल बहादुर तामाङ आफुलाई अमेरिकन आर्मी भएको बताउँथे । भुकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेको बाबु सहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुई लगाउँथे ।


ADVERTISEMENT


उनको जीवनशैली र हाउभाउ भने कुनै धनी परिवारको सदस्यको झैं लाग्थ्यो । जसलाई जे बताएपनि सिन्धुपाल्चोकको माङखा घर भएका तुल बहादुर काठमाडौंमा भाडाको ट्याक्सी चलाउँथे । बचेको समय भने फेसबुक चलाउँथे ।


ADVERTISEMENT

# # #


फेसबुकबाटै उनी अनेकन केटीको सम्र्पकमा पुग्थे र अनेकन आश्वासन दिन्थे । यही क्रममा उनले संखुवासभाको नुममा घर भएकी करिव २१ वर्षकी एक युवतीसँग सम्पर्क बढाए ।

त्यसपछि सुरु भएको उनको प्रेम कथा जसरी अगाडि बढ्यो त्यसरी नै कथामा कैयन घुम्तीहरु देखा परे । महिनौ लामो प्रेम पछि उनले तिनै युवतीलाई बिहे गरे, तर बिहे पछि सुरु भएको कथाको अर्को पाटोले तुल बहादुरलाई प्रहरीको खोरमा पुर्‍याइदियो।

फेसबुकबाट सम्र्पक स्थापित गरेकी केटीलाई उनले प्रेमको प्रस्ताव गरे । उनीहरुबीचको माया पिरतीको यति गहिरियो कि, फेसबुकबाट जोडिएको केही महिनामै तुलबहादुर संखुवासभा केटीको घर पुगे ।

सामान्य आर्थिक परिवारको युवतीको अभिभावकहरु केटाको उच्च धनाढ्य जीवनशैलीको कथा सुनेर छक्कै परे । पहिलो भेट पछि नै तुलबहादुरलाई युवतीको घर आउँजाउमा कुनै रोकतोक भएन ।

केही पटकको आउजाउ पछि तुलले युवतीलाई परिवारकै सहमतीमा बिहे गरे । त्यसपछि श्रीमती लिएर काठमाडौं आए । तर आफ्नो घर भने लगेनन् । बरु उनलाई केही दिन काठमाडौं घुमाएर माईत नै फर्काइदिए । बिहे पछिका केही महिनासम्म तुलले युवतीलाई केही दिनका लागि काठमाडौं बोलाउँथे र फेरी माईतै फर्काइदिन्थे ।

आफ्नो घर पनि नलैजाने, परिवारका सदस्य पनि नभेटाउने गरेपछि युवतीलाई केही शंका हुन थालीसकेको थियो । सोही बीचमा तुलले अर्को पासो थापे । उनले ससुरा र पत्नीसंग भने, ‘सालो बेकामे भइरहेको छ ।

त्यसलाई अमेरिकन आर्मीमा भर्ती गराईदिन्छु ।’ ज्वाईको आर्कषक प्रस्ताव सुनेर ससुराली पक्षले नाईनास्ती गर्ने अवस्थै रहेन । जेनतेन खोजखन्तर गरेर ससुराले तुललाई २१ लाख रुपैयाँ दिए ।

मंसिर १४ गते अमेरिका उडनुपर्ने भन्दै तुलले सालोलाई काठमाडौं बोलाए । जब सालो काठमाडौं आएर भिनाजु खोजे, त्यसपछि तुल सम्र्पकमै आएनन् । त्यसपछि बल्ल उनीहरुले आफू नराम्रोसँग ठगिएको चाल पाए र गुहार माग्दै प्रहरी परिसर काठमाडौं पुगे ।

प्रहरी अनुसन्धान पछि पोल खुल्यो, २१ लाख रुपैयाँ हात पारेपछि तुल आफ्नो गाउँ माङखा पुगेर लुकेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गर्न सिन्धुपाल्चोकको बाह्रबिसे इलाका प्रहरी कार्यालयसँग सहयोग लियो ।

बाह्रबिसे ईलाका प्रहरी कार्यालयले तुललाई मंसिर २२ गते उनकै खाडीचौर बजारबाट पक्राउ गरेर काठमाडौं पठाइदियो ।

तुल पक्राउ परे पछि पनि उनको कथा भने सकिएन । प्रहरीले तुलको अनौठो ठगीको पर्दा त च्यात्यो नै उनले विगतमा गरेको यस्तै प्रकृतीका ठगीका अन्य घटनाको लहरो पनि भेटायो ।

प्रहरीका अनुसार तुलले दुई वर्ष अघि पनि आफू क्यानडा बस्ने र उतैको पिआर होल्डर भएको बताउँदै फेसबुकमार्फत एउटी युवतीलाई जालोमा पारेका रहेछन् । क्यानडा लैजाने भन्दै १८ लाख रुपैयाँ लिएर फरार भएपछि तुलमान विरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा परेको रहेछ ।

विभागको अनुसन्धान पछि १८ लाख धरौटी बुझाएर तुलमान मुक्त भएका रहेछन् ।