काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज (जिपिए) नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड बैठकमा कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव पेस गर्ने तयारी हुँदै छ ।


ADVERTISEMENT


बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले एक सातामा बोर्ड बैठकबाट ग्रेडसिटको टुंगो लगाउने बताए । अध्यक्ष पौडेलले कक्षा ११ र १२ ‘सिंगल सब्जेक्ट ट्रयाक सिस्टम’मा चलेका कारण ग्रेडिङमा नतिजा निकाले पनि जिपिए नराख्ने बताए । उनले भने, ‘जिपिए नराख्ने प्रस्ताव तयार छ, यो प्रस्ताव बोर्डबाट पारित होला ।’


ADVERTISEMENT

# # #


पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङमा मूल्यांकन गर्ने कार्यविधि तयार पारिसके पनि एउटै कक्षाका विषयमा फरक–फरक क्रेडिटआवर हुनुलगायत अन्य समस्या बोर्डले टुंग्याउन सकेको छैन । सैद्धान्तिक रूपमा लेटर ग्रेडिङमा मूल्यांकन कार्यविधिसमेत केन्द्रले उपलब्ध गराइसकेको छ ।

सर्टिफिकेसन कसरी गर्ने भन्नेमा परीक्षा बोर्ड अझै टुंगोमा पुगेको छैन । ‘हामी जुनसुकै पद्धतिमा पनि रिजल्ट गर्न तयार छौँ । तर, कस्तो गर्ने भन्ने अहिलेसम्म जानकारी आएको छैन,’ परीक्षा बोर्डका निमित्तनियन्त्रक डम्बर बतासले भने । उनले अंकमा तयार भएको नतिजालाई ग्रेडमा ‘कन्भर्ट’ गर्न तयार रहेको बताए । केन्द्रले कक्षा ८ देखि १२ सम्म नै लेटर ग्रेडिङमा मूल्यांकन कार्यविधि बनाइसकेको छ ।

बोर्डमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेडसिटमा ग्रेडपोइन्ट एभरेज (जिपिए)समेत राखिएको छ । तर, कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव तयार भएको छ । यसमा समेत मत विभाजित छ । एउटा पक्षले सिंगल ट्र्याक सब्जेट भएकाले जिपिए राख्न नहुने तर्क गरेका छन् । केही बोर्ड सदस्यले भने माथिल्लो तहमा भर्ना लिन, छात्रवृत्ति दिने लगायतका कुरामा समस्या हुने भन्दै जिपिए राख्नुपर्ने तर्क गरेका छन् ।

  • एसइईमा जस्तै ग्रेडिङ
    कक्षा ११ मा पनि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को जस्तै गरी लेटर ग्रेडिङ गर्न सिफारिस आएको छ । यस विधिअन्तर्गत विद्यार्थीले पाएको अंकलाई नौवटा ग्रेडमा वर्गीकरण गरिन्छ । केन्द्रले एसइईमा ९० र त्यसभन्दा माथि ‘ए प्लस’, ८० र त्यसभन्दा माथि ९० भन्दा कम ‘ए’, ७० र त्यसभन्दा माथि ८० भन्दा कम ‘बी प्लस’, ६० र त्यसभन्दा माथि ७० भन्दा कम ‘बी’, ५० र त्यसभन्दा माथि ६० भन्दा कम ‘सी प्लस’, ४० र त्यसभन्दा माथि ५० भन्दा कम ‘सी’, ३० र त्यसभन्दा माथि ४० भन्दा कम ‘डी प्लस’, २० र त्यसभन्दा माथि ३० भन्दा कम ‘डी’ तथा २० भन्दा कमलाई ‘ई’ ग्रेड निर्धारण गरेको छ ।
  • समस्या के छन् ?
    कक्षा ११ मा लेटर ग्रेडिङमा मूल्यांकनका लागि धेरै प्राविधिक समस्या देखिएका छन् । बोर्ड स्रोतका अनुसार कक्षा ११ मा पढाइ भइरहेका विषयको क्रेडिटआवर गणना गर्नसमेत कठिन छ । परीक्षा बोर्ड स्रोतले भन्यो, ‘सिंगल ट्र्याक सब्जेक्ट सिस्टम भन्ने तर साइन्सका विषयमा क्रेडिटआवर बढी र अरूमा कम भएकाले भोलि अन्तर्राष्ट्रिय बजारमा समेत विवादित हुने अवस्थाका कारण अहिलेसम्म अन्योल भएको हो ।’ सिंगल सब्जेक्ट सर्टिफिकेसन सिम्टम हुनुपर्ने आवाज बोर्डभित्रैबाट उठेको छ ।