काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिदैँ छन्


ADVERTISEMENT


१३ चैतसम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता पनि थियो । आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा पनि प्रचण्डले आज सत प्रतिशत विश्वासको मत पाउने आशा राखेको सञ्चारकर्मीहरूसँग बताएका थिए । २६ पुसमा उनले २६८ सांसदको समर्थन पाए जस्तै दाेस्राे पटक पनि पाउनेमा निश्चित देखिन्छ । तर प्रधानमन्त्री प्रचण्डले आज विश्वासकाे मत पाए पनि सरकारकाे बाँडफाँडमा सकस हुने देखिएकाे छ ।


ADVERTISEMENT

# # #


प्रचण्डकाे काँधमा सरकार बाँडफाँडकाे सकस 

प्रधानमन्त्री प्रचण्डको काँधमा अहिले १६ मन्त्रालय छन् । परिस्थितिले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको भागमा परेका मन्त्रालय प्रचण्डको काँधमा आइपुगेको हो । १० पुस को सहमतिबाट पछि हट्दै राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

राष्ट्रपति निर्वाचनमा पुरानो पाँच दलीय गठबन्धन ब्युँतिएसँगै राप्रपा पनि सरकारबाट बाहिरिएको हो । रास्वपा सरकारबाट फिर्ता भएपनि प्रचण्डलाई समर्थन कायमै राखेको छ । सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि सरकारबाट फिर्ता भएको रास्वपाले आज प्रचण्डलाई विश्वासको मतसमेत दिने भएको छ ।

रास्वपासँगै सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदले विश्वासको मत दिने निर्णय गरिसकेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले भने कुनै निर्णय गरेको छैन । प्रतिनिधि सभामा जनमोर्चाको एक सांसद छन् । विपक्षीमा भने एमाले, राप्रपा र नेमकिपा उभिने निर्णय गरिसकेका छन् ।

विश्वासको मत लिइसकेपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति सत्ता गठबन्धन दलबीच यसअघि नै भइसकेको छ । तर प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस पर्ने देखिन्छ । स्रोतका अनुसार मन्त्रालय भागबन्डामा गठबन्धन भित्र सहमति जुट्न सकेको छैन ।

विश्वासको मत पाएपछि सरकार विस्तारमा प्रचण्ड केन्द्रित हुने उनी निकट एक नेताले बताए । उनले भने, ‘केही दिन मै सरकारलाई पूर्णता दिन प्रधानमन्त्री ज्यू लाग्नुहुन्छ । गठबन्धन दलबीच सहमति भए रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । मन्त्रालयलाई लिएर केही असमझदारी बनेको छ । त्यो हामी मिलाउँछौं ।’

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले उपप्रधानसहित ८ मन्त्रालय लिएको थियो । कांग्रेसले पनि उपप्रधानसहित ८ मन्त्रालयमा दाबी गरिरहेको छ । कांग्रेसले गृह र अर्थ दुवै मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

माओवादी केन्द्रका नेताहरूले गृह मन्त्रालय आफूसँगै हुनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिइरहेका छन् । सहमति अनुसार रास्वपा सभापति लामिछानले गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको थियो । त्यसबेला पनि माओवादी नेताहरूले गृह मन्त्रालय अन्य दललाई नदिन प्रचण्डलाई दबाब दिएका थिए ।

उपप्रधानसहित गृह मन्त्रालय पाए रास्वपासमेत सरकारमा सहभागी हुने जनाउ सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् । यसले पनि प्रचण्ड दबाबमा छन् । सरकारमा सहभागी हुन् कांग्रेससहित एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि आफुले चाहेकाे मन्त्रालयकाे लागि लालायित देखिन्छ ।