काठमाडौं-कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ का दुई जना महिला बेपत्ता भएका छन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।


ADVERTISEMENT


अर्घाखाँची गौचौर माइती घर भएकी गुरुङ मंसिर २४ गतेदेखि बेपत्ता भएकी हुन् । गुरुङ मंसिर १५ गते अढाइ वर्षको छोरालाई लिएर माइत गएको नन्द धना गुरुङले बताइन् । उता माइतीमा तीनदिन बसेपछि घर जान्छु भन्दै बस चढेको माइती परिवारले बताएको छ ।


ADVERTISEMENT

# # #


म घर आईपुगेँ भनेर आफूलाई समेत फोन गरेको उनकी आमाले बताइन् । माइत गएको धेरै दिन भयो, भाउजु अझै आउनु भएन भन्दै नन्दले माइतमा फोन गर्दा बल्ल हराएको पुष्टि भएको हो । उनकी सासूले गहभरि आँशु पार्दै भनिन्, ‘हाम्रा आफन्त भएका सबै ठाउँमा खोजियो, कतै पत्ता लगाउन सकिएन, अरुभन्दा नि नातिको सारै याद आउँछ ।’

यस्तै, यही पुुस ५ गतेदेखि बेपत्ता भएकी अर्की महिला राधाको घटना भने फरक छ । ‘मलाई कसैले नखोज्नुहोला’ भन्ने एक पान्नाको चिठी लेखी घरमा छोडेकी राधा कहाँ गइन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको उनका ससुरा छन्दबहादुर परियारले बताए । पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखेको परियारले बताए । सबै ठाउँमा खोजी गरिएको तर अहिलेसम्म पत्ता लगाउन नसकिएको पारिवारिक स्रोतले बताएको छ ।

गीता गुरुङका श्रीमान् मलेसियामा र राधाका श्रीमान् ओमनमा छन् । दुवै परिवारले इलाका प्रहरी कार्यालयमा खोजिदिनका लागि निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । दुवै परिवारले खोजिदिनका लागि सबैसँग आग्रह गरेका छन् ।