काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार दाङ आउने भएका छन् । केही दिन पहिले आफ्नो लगानीको एक होटल उद्घाटन गर्न बाँके पुगेका पूर्वराजा शुक्रबार बिहान दाङ आउन लागेका हुन् ।


ADVERTISEMENT


पूर्वराजा पूर्वपश्चिम राजमार्ग हुँदै बाँकेदेखि दाङ तुलसीपुरसम्मको १ सय १७ किलोमिटरको बाटो गाडी मै यात्रा गर्दै दाङ आउने भएका हुन् । तराईमा बाक्लो हुस्सु र शितलहर चल्ने भएको हुँदा स्कटिङ र सुरक्षाको लागि बाक्लो सुरक्षाकर्मी खटाउने तयारी स्थानीय प्रहरी प्रशासनले गरेको छ ।


ADVERTISEMENT

# # #


दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी दुर्गा सिंहले दाङको सीमासम्म जिल्लाबाट प्रहरी स्कटिङका लागि जाने जानकारी दिइन् । घोराहीमा अम्वेकेश्वरी, रत्ननाथ मन्दिर र साईवाबाको मन्दिर दर्शनमा जाने भन्ने सूचना आएको एसपी सिंहले बताइन् ।

शाहका निजी सचिव सागर तिमिल्सेना बिहिबार दाङ आएर यहाँको तयारी तथा सम्वन्धित मन्दिर र होटलहरूको अवस्था अवलोकन गरि फर्किएका छन्।

स्वागतका लागि ५०१ सदस्य समिति गठन

यसैबीच पूर्व राजा शुक्रबार दाङ आउने भएपछि उनको भव्य स्वागतको तयारी गरिएको छ। सुरेन्द्र गिरीको संयोजकत्वमा ५ सय १ सदस्य स्वागत तथा सम्मान समिति गठन गरिएको छ।

त्यस्तै युवा परिचालनको लागि उमाकान्त भण्डारीको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। बिहिबार घोराहीमा बसेको भेलाले पूर्वराजाको दाङमा भव्य स्वागत गर्न भन्दै समितिहरू गठन गरेको हो।

पूर्वराजालाई स्वागत र सम्मानका लागि बाँके र दाङको सीमा क्षेत्र अमेलीयासम्म जाने निर्णय उक्त समितिले गरेको छ । अमेलीयादेखि तुलसीपुरसम्म भव्य स्वागतका साथ ल्याउने र तुलसीपुरदेखि घोराही पुग्दा पनि त्यही शैली अनुसरण गरिने राप्रपा (प्रजातान्त्रिक) दाङका अध्यक्ष हंशराज केसीले सेतोपाटीलाई जानकारी दिए।

दाङमा रहँदा पूर्व राजाले यहाँका विभिन्न धार्मिक शक्ति पिठमा गएर पूजा आरधना गर्ने छन् । अध्यक्ष केसीले राजा शुक्रबार बिहान १० बजेपछि घोराहीस्थित अम्वेकेश्वरी मन्दिर, त्यसपछि नजिकैको रतननाथ मन्दिर र त्यसपछि घोराहीकै साईमन्दिरमा पूजा आरधानाका लागि पुग्ने तालिका रहेको जानकारी दिए ।

समय रहेमा विश्वकै अग्लो त्रिशूल स्थापना भएको घोराहीको केही दक्षिणमा अवस्थित धारापानी मन्दिरमा समेत शाह पुग्नेछन् । यसैबीच पूर्वराजाले सर्वसाधरण तथा शुभचिन्तकसँग घोराहीस्थित डोको होटलमा भेटघाट गर्ने कार्यक्रम तय भएको अध्यक्ष केसीले जानकारी दिए ।

राजा र हिन्दुत्वमा आस्था राख्ने धार्मिक संघ संस्था, राजनीति दल, समर्थक शुभचिन्तकसँग पूर्वराजाले घोराहीकै डोको होटेलमा भेटघाट गर्ने समय तालिका छ। ‘झन्डै डेढदेखि दुई घन्टाको समय भेटघाटका लागि छुट्याएको छ,’ अध्यक्ष केसीले भने।

डोको होटलमै पत्रकारलाई सामूहिक रुपमा सम्वोधनका लागि झन्डै २० मिनेटको समय छुट्याइएको केसीले बताए । पूर्वराजा शुक्रबार दिउँसो २ बजेपछि पुनः बाँके जाने कार्यक्रम रहेको जानकारी दिइएको छ ।