काठमाडौं-काभ्रे, महादेवस्थानस्थित कालीदेवी प्राविको भवन दुई वर्षअघिको भूकम्पले भत्काएपछि एसियाली विकास बैंकको सहयोगमा भर्खरै सुविधासम्पन्न भवन बनेको छ । तीन करोड लागतमा बनेको भवनमा अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आवतजावत गर्न र्‍याम्प (ह्विलचियरमा हिँड्ने बाटो) पनि बनाइयो ।


ADVERTISEMENT


तर, अपांगता भएका विद्यार्थीलाई शौचालयको गेटसम्म पुगेपछि शौच गर्न छुट्टै संरचना बनाइएन । अपांगता र बालमैत्री रहे पनि शौच गर्ने ठाउँ अभाव हुँदा यस्ता व्यक्तिलाई समस्या परेको छ । ‘शौचालयभित्र अपांगता भएका विद्यार्थीलाई समाउने स्ट्यान्ड बनाउनेबारे ठेकेदार कम्पनीसँग कुरा गर्दा बजेट अभाव रहेको जवाफ आयो’, विद्यालयका प्रधानाध्यापक प्रेमलाल श्रेष्ठले भने ।


ADVERTISEMENT

# # #


अपांगता भएका विद्यार्थीलाई आवतजावत गर्न भिरालो जग्गामा र्‍याम्प बनाइएको छ । शरीर नै धान्नसमेत समस्या पर्ने गरी बनाइएको र्‍याम्पबाट ह्विल चियरमार्फत आवतजावत गर्न कठिन छ । यति मात्र होइन, विद्यालय भवनको मुख्य द्वार बलियो गरी बनाइएको छ । सँगै सुरक्षागार्डका लागि क्वार्टर पनि छ ।

तर, भवनलाई छेकबार गर्ने बजेट स्कुलसँग नहुँदा विद्यार्थी भिरालो ठाउँबाट लड्ने त्रासमा पठनपाठन गरिरहेका छन् । ‘स्कुल भवन बालमैत्री र अपांगतामैत्री भनेर के गर्नु ? सबल विद्यार्थीलाई त नियमित आवतजावत गर्न कठिन छ । अपांगता भएकाको समस्या कसले बुझ्ने ? ’ श्रेष्ठले भने । ठेकेदारसँग सम्झौता भएको समयमा विद्यालयलाई दिएको कागजमा भवनसँगै कम्पाउन्ड पनि बनाउने र खाली रहेको जग्गामा दुबो रोप्ने उल्लेख गरिए पनि अन्तिममा ठेकेदार पन्छिएको श्रेष्ठले बताए । सबल विद्यार्थीसँगै बौद्धिक अपांगता भएकालाई पढाइरहे पनि स्रोत अभावमा धान्न मुस्किल परेको प्रधानाध्यापक श्रेष्ठको गुनासो छ ।

धादिङ, सिद्धलेकस्थित सत्यवती माविमा पनि फोकस नेपाल नामको गैरसरकारी संस्थाले आधुनिक शौचालय कोठा बनाइदिएको छ । शौचालयसम्म आउने–जानेका लागि ह्विलचियर गुड्ने र्‍याम्प पनि छ । तर, शौचालयभित्र ह्विलचियर छिराउने बाटो छैन । त्यहाँभित्रको संरचना पनि अपांगता भएका व्यक्तिका लागि प्रयोग गर्न नसकिने किसिमको छ ।

‘हामीलाई सबै कुराको ज्ञान भएन । भवन डिजाइन गर्ने इन्जिनियर र सम्बन्धित संस्थाले पनि हेक्का राख्न सकेन’, प्रधानाध्यापक रामबहादुर खतिवडाले भने, ‘बाहिर संरचना हेर्दा अपांगतामैत्री शौचालय भन्न सकिने किसिमको छ तर भित्री संरचना फरक छ ।’

तत्कालका लागि ह्विलचियरबाटै आवतजावत गर्नुपर्ने विद्यार्थी नभए पनि पछि आएका अवस्थामा अहिलेको शौचालय प्रयोग गर्न नसक्ने खतिवडाले बताए । विद्यालयको संरचना सुहाउँदो नभएकै कारण कतिपय ठाउँमा अपांगता भएका विद्यार्थीले पढ्नै नपाएको समाचार आउन थालेपछि सरकारले नयाँ बन्ने भवन अनिवार्य रूपमा अपांगतामैत्री र बालमैत्री हुनुपर्ने व्यवस्था गरेको छ ।

तर, अधिकांश नयाँ भवनमा बनेको अपांगतामैत्री संरचना देखावटी मात्र छन् । सरोकारवाला निकायको निगरानी हुन नसक्दा यस्तो समस्या देखिएको हो।

अपांगता भएका र विद्यालयसम्म सहज आवतजावत गर्न नसक्ने विद्यार्थीलाई शिक्षा विभागले मासिक ४० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ । सहज रूपमा घरबाट आउने-जाने व्यवस्था नभएका विद्यार्थीलाई भने आवासीय स्रोत केन्द्रमार्फत विभागले पढाउँदै आएको छ ।

विभागका समावेशी शिक्षा शाखाप्रमुख तथा उपनिर्देशक गणेश पौडेलका अनुसार मुलुकभर तीन सय ८० वटा यस्ता स्रोत केन्द्र छन् । उनले भने, ‘शारीरिक अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आउजाउ गर्न ह्विलचियर गुड्ने बाटो बनाउनुपर्ने सरकारी नीति छ । अधिकांश नयाँ भवनमा यस्तो संरचना पनि छ । केहीमा समस्या देखिएको भए सुधार गर्न लगाइन्छ ।’

भूकम्पले भत्काएको भवन बनाउन शिक्षा मन्त्रालयले गठन गरेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका कार्यकारी निर्देशक इमानारायण श्रेष्ठले अपांगता भएका विद्यार्थीलाई नै लक्ष्य गरेर धेरै संरचना बनाइएको दाबी गरे ।