काठमाडौं-यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताका लागि भारतीय कप्तान विराट कोहलीलाई रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) ले सर्वाधिक रकममा अनुबन्ध गरेको छ । कोहली आरसीबीको पनि कप्तान हुन् । आरसीबीले नयाँ सिजनका लागि अक्सन (खेलाडीको लिलामी) सुरु हुनुपूर्व नै १७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।


ADVERTISEMENT


मुम्बईमा भएको आईपीएल प्लेयर रिटेन्सन (खेलाडी पुनःप्राप्ति) कार्यक्रममा आरसीबीले कोहलीका लागि सर्वाधिक रकम तिरेको हो। आईपीएलले सिजन सुरु हुनुपूर्व नै टोलीहरूलाई आफ्ना खेलाडी अनुबन्धको अवसर दिएको हो। आरसीबीले सोही कार्यक्रममार्फत यसअघि राष्ट्रिय टोलीबाट नखेलेका ब्याट्सम्यान सर्फराज खानलाई पनि अनुबन्ध गरेको छ।


ADVERTISEMENT

# # #


अन्य टोलीहरूले पनि खेलाडीलाई अनुबन्ध गरेका छन्। चेन्नाई सुपर किङ्सले भारतीय टोलीका पूर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीलाई १५ करोडमा अनुबन्ध गरेको छ।

पछिल्लो केही सिजन निलम्बनमा रहेको चेन्नाईले यो सिजनबाट पुनः आईपीएल खेल्दै छ। चेन्नाईले आफ्ना पूर्वखेलाडी सुरेश रैनालाई ११ करोड तथा रभिन्द्र जडेजालाई सात करोडमा अनुबन्ध गरेको छ।

यस्तै मुम्बई इन्डियन्सले रोहित शर्मालाई १५ करोड, हार्दिक पान्ड्यालाई ११ करोड र जसप्रित बुम्राहलाई सात करोडमा अनुबन्ध गरेको छ। आरसीबीले कोहली र सर्फराजसहित दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिल्लियर्सलाई ११ करोडमा अनुबन्ध गरेको छ। कलकत्ता नाइट राइडर्सले वेस्ट इन्डियन स्पिनर सुनील नराइनलाई आठ करोड ५० लाख तथा एन्द्रे रसेललाई सात करोडमा अनुबन्ध गरेको छ।

देल्ही डेयरडेभिल्सले ऋषभ पन्तलाई आठ करोड, दक्षिण अफ्रिकी क्रिस मोरिसलाई सात करोड १० लाख, श्रेयस इयरलाई सात करोडमा अनुबन्ध गरेको छ।

किङ्स इलाभेन पञ्जाबले अक्षर पटेललाई ६ करोड ७५ लाखमा अनुबन्ध गरेको छ। सनराइजर्स हैदराबादले अस्ट्रेलियन डेभिड वार्नरलाई १२ करोड तथा भुवनेश्वर कुमारलाई आठ करोड ५० लाखमा अनुबन्ध गरेको छ। राजस्थान रोयल्सले अस्ट्रेलियन कप्तान स्टिभन स्मिथलाई १२ करोड खर्चेको छ। आईपीएलले अक्सन अघि टोलीहरूलाई कम्तीमा तीन खेलाडी अनुबन्ध गर्न पाउनेछ।