काठमाडौं शून्य दशमलव ५ डिग्री
काठमाडौं-काठमाण्डौं उपत्यका सहित मुलुकभर चिसो बढेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरले जनजीवन अत्यन्तै कष्टकर भएको छ ।
काठमाडौंको आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घट्ने क्रम अझै केहीदिन जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै उत्तरी क्षेत्रको हावाको बहाव बढेकोले पनि चिसो बढेको र यो क्रम अझै केहीदिन यथावत रहने मौसमविद् वरुण पौडेलले बताएका छन् ।
अझै एकसाता पानी पर्ने वा हिमपात हुने संभावना नरहेपनि तापक्रम भने शून्य डिग्रीसम्म झर्न सक्ने मौसमविद् पौडेलले बताए । गएको २४ घण्टामा जुम्लामा सबैभन्दा चिसो मापन गरिएको छ ।
कुन ठाँउको तापक्रम कति ?
- काठमाडौं शून्य दशमलव ५ डिग्री
- जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २,
- जोमसोमको माइनस ४ दशमलव ७
- जिरीको माइनस् ३ दशमलव ५,
- पोखरामा ४ दशमलव ५,
- ओखलढुङ्गामा ३ डिग्री
- सिमरामा ३,
- लुम्लेमा २ दशमलव ५,
- विराटनगरमा ७ दशमलव ७,
- जनकपूरमा ७ डिग्री
यसैबीच सप्तरीमा चिसोमा कठ्याङ्ग्रिएर थप एक जनाको मृत्यु भएको छ । मृत्यु भएकामा खडक नगरपालिकाका ६० वर्षिय मुसहरु चौधरी रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
योसँगै सप्तरीमा चिसोका कारण मृत्यु भएकाको संख्या १० पुगिसकेको छ । चिसो अत्याधिक बढेपछि सप्तरी, मुगु लगायत केही जिल्लामा केहीदिनका लागि विद्यालय बन्द गरिएको छ ।