रौतहट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा नेपाली  कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफ्ताब आलमसंग हिमालय पोष्टले गरेको विशेष कुराकानीको सम्पादित अंश: 


ADVERTISEMENT


निर्वाचन पश्चात नेपाली कांग्रेसको अहिलेको रणनीति कसरी अगाडी बढिरहेको छ ?


ADVERTISEMENT

# # #


सबैभन्दा पहिलो कुरा के हो भने कांग्रेसको नेतृत्वमा निर्वाचन भयो र संविधान कार्यान्वयन पनि भयो । सुशील कोईरालाको नेतृत्वमा संविधान बन्यो र त्यसलाई शेरबहादुर देउवाको नेतृत्वले कार्यान्वयनको बाटोमा लियो । यति हँदाहुँदै पनि पहाडमा वाममोर्चा र मधेशमा मधेशी मोर्चा हुँदाखेरी कांग्रेसलाई अप्ठ्यारो परेको हो । अब कांग्रेसलाई के गर्दा बलियो बनाउन सकिन्छ भन्ने बारेमा कांग्रेस चिन्तित छ । मलाई लाग्छ केही दिनभित्र नै योजना हुन्छ ।

रौतहटबाट तपाई निरन्तर रुपमा विजय हासिल गरिरहनु भएको छ । खासमा यसको भित्री कारण के हो ?

यसको एउटै कारण छ । त्यो भनेको जनताप्रतिको मेरो उत्तरदायित्व र जिम्मेवारी हो । म बढीभन्दा बढी समय जनतालाई दिन्छु । मेरो समय उहाँहरुको हितकै लागि बित्ने गर्दछ । सायद यही कारण हो जस्तो लाग्छ ।

अहिले जनताको कांग्रेसप्रतिको मोह त्यती राम्रो देखिँदैन । त्यसलाई निर्वाचन परिणाले पनि प्रमाणित गर्दछ । अब कांग्रेसलाई पुनःस्थापित गर्नका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

अहिले कांग्रेसले पराजय भोग्नु पर्यो । त्यसमा मलाई के लाग्छ भने अबको पाँच वर्ष हामीले राम्रोसंग काम गयौँ भने अगाडि आउँछौँ । नेपाली कांग्रेसमा अब आफ्नो गुट बलियो बनाउने हिसाबले होइन, सिङ्गो नेपाली कांग्रेसलाई जिताउन लाग्नु पर्यो । समग्रमा नेपाली कांग्रेस हाम्रो हो भन्ने भावनाको विकास गर्नुपर्यो । उपयुक्त मानिसलाई नेतृत्व तहमा ठाउँ दिएर जनताप्रतिको उत्तरदायित्व बहन गर्नुपर्छ ।

तपाई किसुनजी र गिरिजाबाबूसंग पनि नजिक रहेर काम गर्नु भएको थियो । उहाँहरुलाई कसरी सम्झिनुहुन्छ ?खासमा नेपाली कांग्रेस पार्टी कस्तो हो र यसको नेतृत्व कस्तो हुनुपर्छ ?   

एउटा कुरा के छ भने किसुनजीको पालामा मैले कार्यबाहक सभापतिको काम पनि गरेको थिएँ । यस्तै उहाँको क्याविनेटमा पनि स्थानीय राज्यमन्त्रीको रुपमा मैँले काम गरेँ । किसुनजी सबैलाई मिलाएर अगाडि बढ्ने प्रवृत्तिको हुनुहुन्थ्यो । यस्तै गिरिजाबाबू मलाई कदमै विश्वास गर्नुहुन्थ्यो । गिरिजा प्रसाद कोइरालासंग म एक्दम नजिक भएर काम गरेँ । उहाँमा मैँले के खुबी पाएँ भने अगाडि पछाडि नहेरेर एकदमै बोल्ड र छिटो निणर्य गर्नुहुन्थ्यो । सबै मिलेर जाउँ भन्ने उहाँको धारणा हुन्थ्यो ? म सकिएपनि कांग्रेस बाँच्नुपर्छ, राष्ट्र जोगिनुपर्छ । राष्ट्रियता जोगाउनुपर्छ भन्ने गुण उहाँमा थियो । उहाँको एउटै चिन्ता हुन्थ्यो कांग्रेस कसरी जोगाउने, देश कसरी जोगाउने ? नेपाली जनता कसरी बलियो हुन्छ भन्ने भावना उहाँमा थियो । त्यी भावना लिएर अगाडि बढेमा कांग्रेस अझैँपनि बलियो हुन्छ ।

शेरबहादुरजी अहिले सभापति हुनुहुन्छ । गिरिजा प्रसाद कोइराला जसरी अगाडि बढ्नुभयो । त्यो भावना लिएर जानुपर्छ । अर्को समग्र रुपमा सबैलाई मिलाएर अगाडि जानुपर्छ । आफ्नो गुटलाई मात्रै होइन समग्र पार्टीलाई बलियो बनाउनतिर लाग्नुपर्छ। गुट उपगुटको भावनालाई अन्त्य गर्नका लागि पार्टी सभापतिले सबैलाई समान रुपमा हेर्नुपर्छ । यो भएमा कांग्रेसलाई माथि उकास्न सकिन्छ  ।

यसमा तपाईको भूमिका के हुन्छ ? यस्तै सरकार निर्माणका तयारी गरिरहँदा कांग्रेसको आगामी भूमिका के हुन्छ ? 

पछिल्लो समय क्षेत्रियता, जातियतालाई चुनाव जिन्ते आधारको रुपमा विकसित हुँदै आएको छ । यो एकदमै चरम सीमामा पुगेको छ । अब जनताको माझमा यसको बारेमा खण्डन गर्न आवश्यक छ । लोकतन्त्रको मूल्य र मान्यतालाई साथमा लिएर जनताको हितका लागि नेपाली कांग्रेस लाग्नु पर्छ । यसमा मेरो भूमिका सदा रहिरन्छ ।

हामी प्रतिपक्षमा बस्ने जनादनेश आएको छ । संसारको इतिहास नै हो कि जहाँ लोकतन्त्र र लोकतान्त्रिक संविधान हुन्छ, त्यहाँ सत्तामा जानु नै कुनै जरुरी छ जस्तो हुँदैन । प्रतिपक्षमा बसेर राम्रो काम गर्दै अर्को पटक सत्तामा जान सकिन्छ भन्ने सबैलाई थाहा छँदैछ । कुनै त्यस्तो अवसर आयो भने अलग्गै कुरा हो । तर अहिले समग्र नेपालीको निर्देशन अनुसार कांग्रेस प्रतिपक्षमा बस्ने माइन्मेकप गरिरहेको छ ।

सबै राजनीतिक दलहरुले भनिरहेका छन् कि अब देशमा राजनीतिक संक्रमण सकियो । आर्थिक समृद्धिका एजेण्डा मात्रै बाँकी छन् । तपाईको विचारमा नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ ?

जबसम्म सरकारको सोचाईमा परिवर्तन हुन सक्दैन, तबसम्म देशमा परिवर्तन हुन सक्दैन । त्यस कारण पूरानो सोचाईलाई त्याग गरेर मात्र अगाडी जानुपर्छ । देशलाई विकासतर्फ अगाडि बढाउनका लागि, समृद्धितर्फ अगाडि बढाउनका लागि दुई वटा काम गर्नु पर्दछ । एक सोचाई र बुझाईमा परिवर्तन गर्नुपर्छ । हिमाल पहाड र तराईका सबै जनताको भावना एक हुनुपर्छ । अर्को भनेको हामी प्रकृतिले दिएको सम्पदाहरुको सदुपयोग गरिनु पर्छ । जस्तो तपाईलाई म भन्छु कि जलसम्पदामा नेपाल दोस्रो धनी देश हो । यो हामी सबैलाई थाहा भएकै कुरा हो । यसलाई हामी किन सदुपयोग गरिरहेका छैनौँ ? कृर्षिमा पनि नेपाल एकदमै सम्भावना भएको ठाउँ हो । यस्तै पर्यटनलाई अर्थतन्त्रको प्रमुख अधारका रुपमा विकसित गर्न सकिन्छ । यी सबै कुरा गर्न सकियो भने देश समृद्धितर्फ अगाडि बढ्छ ।

यसको नेतृत्वपनि कांग्रेसले नै गर्छ । किनभने मधेशी पार्टी छन्, जसले मधेश जिन्दावाद बाहेक केही बोल्दैनन् । एमाले पहाड मात्र नेपाल हो जस्तो गर्छ । उपनि एउटा निश्चित क्षेत्रमा सीमित भयो । व्यवहारमा एउटै वर्गको मात्रै भलो चाहान्छ जस्तो देखियो । माओवादी पनि त्यही धारमा जान खोज्दैछ । तर नेपाली कांग्रेसमात्रै त्यस्तो पार्टी हो जसले सबै जातजाती, वर्ग र समुदायलाई समेटेर देशको हित गर्नुपर्छ भन्छ । र त्यही अनुसार अगाडि पनि बढेको छ ।

अन्त्यमा, यस पटकपनि रौतहटका जनताले तपाईप्रति आशा राखेर नै जिताएका हुन् । उनीहरुको लागि के भन्नुहुन्छ ?

म के भन्छु भने विगतमा जसरी उहाँहरुको प्रतिनिधि भएर संसदमा गएँ । यस पटक पनि दुईवटा गठबन्धन हुँदाहुँदै पनि जनताले मलाई विश्वास गर्नुभयो । त्यसको लागि म सम्पूर्ण आफ्नो क्षेत्रवासीहरुप्रति आभार प्रकट गर्न चाहान्छु । पहिले म जुन गतीमा काम गर्थेँ । त्यो भन्दा दश गुणा काम गर्नेगरी जनताको माझमा रहन्छु । जिल्लाको विकासको लागि, क्षेत्रको विकासको लागि ध्यान केन्द्रित गर्नेछु । जनताको विश्वासलाई खेरजान दिँनेछैन ।