काठमाडौँ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् । सुरक्षा गस्तीका लागि सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


शनिबार सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा रहेका ४१ वर्षीय उनी बागथला भन्ने क्षेत्रमा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालयमै कार्यरत प्रहरी कर्मचारीसँग फर्किने क्रममा म विस्तारै आउँछु भनेर पछि परेका शङ्कर निक्कैबेरसम्म नआएपछि खोजी गर्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए । मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भइरहेको जनाइएको छ । रासस