काठमाडौं-काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणको कारण जनस्वास्थ्यमा गम्भीर असर पुगेको विषयलाई लिएर बुधवार बसको मन्त्रिपरिषद् बैठकले पन्धवटा निर्णय गरेको छ । विभिन्न सरोकारवाला निकायसहित बसेको बैठकले ती निर्णय सम्वन्धित सबै निकायले छिटो कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।


ADVERTISEMENT


बैठकले उपत्यकामा खुला रूपमा आगो बाल्न कडा प्रतिबन्ध लगाउने, सवारीसाधन प्रदूषण जाँच थप पन्ध्रदिन जारी राख्ने, वातवरण विभागले तयार गरेको मापदण्डअनुसार ग्रिन स्टिकर लागू गर्न भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले राजपत्रमा प्रकाशित गर्ने, सवारीसाधन जाँचमा असफल हुने सवारी साधनवालालाई कारबाहीको व्यवस्था गर्ने, यातायात व्यवस्था विभागले खरिद गर्न लागेका ४० वटा प्रदूषण जाँच मेसिन छिटो खरिद गरी उचित व्यवस्थापन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


बैठकले उपत्यका बाहिर संचालनमा रहेका इँटा भट्टाको मापदण्ड नेपाल राजपत्रमा प्रकाशित गरी अनुगमन कार्यलाई वातावरण तथा उद्योगमन्त्रालयले प्रभावकारी बनाउने, निर्माण कार्यमा ठोस इँटाको सट्टा खोक्रो इँटाको विकल्पबारे अध्ययन गरी प्रयोग गर्ने गराउने विषय सहरी विकास मन्त्रालयले गर्ने निर्णय गरेको छ ।

त्यसैगरी वातवरण मन्त्रालयले वातवरण प्रदूषणको दैनिक तथ्यांक दैनिक समाचारमाध्यम तथा सबैतिर सार्वजनिक गर्ने, मेलम्ची खानेपानी आयोजनाको निर्माणपछि सडक कालोपत्रे गरी धुलो नियन्त्रणका लागि पहल गर्ने, वातवरण प्रदूषणको लागि स्थापित दू्रतटोलीले कार्य निरन्तर जारी राख्ने, विद्युतीय सवारीसाधनको प्रयोगमा प्रोत्साहन गर्ने नीति भौतिक तथा यातायात मन्त्रालयले नीति तयार गर्नुपर्ने, वातवरण प्रदूषणको स्तर मानव स्वास्थ्यलाई असर गर्ने गरी बढेको हुँदा वातवरण मन्त्रालयले शीघ्र कार्ययोजना तयार गर्नेलगायतका निर्णय गरेको छ ।

बैठक प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको थियो । बैठकमा वातवरण प्रदुषणसँग सम्बन्धित सरोकारवाला निकायको उपस्थिति रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मेलम्ची निर्माण कम्पनीलाई निर्देशन
यसैबीच खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनीलाई प्रदूषण नगरी मेलम्ची पानीको सम्पूर्ण काम गर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालयले मन्त्रालयमा सम्बन्धित कम्पनी तथा मेलम्ची आयोजनाका निर्देशक बोलाई यस्तो निर्देशन दिएको हो ।

उपत्यकामा बढ्दो प्रदूषणका कारण मेलम्ची निर्माण कार्यलाई जोडिएको र वातवरण प्रदूषण घटाउन छलफल आयोजना गरेको मन्त्रालयले जनाएको छ ।

‘वायु प्रदुषण आमजनताको स्वास्थ्य सरोकारको विषय भएकाले यो छलफल राखेका हौं,’ खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने । सचिव ठाकुरले भने, ‘प्रदूषण बढाउनुमा हामी जिम्मेवार छैनौं भन्न मिल्दैन, थोपा नै किन नहोस् हामी पनि जिम्मेवार छौं, जनस्वास्थ्यमा असर नपर्ने गरी निर्माण कार्य गर्नुस्,’ उपस्थित कम्पनीका प्रतिनिधिलाई इंगित गर्दै ठाकुरले भने ।

सचिव ठाकुरले वातवरण प्रदूषणको असर सबैलाई पर्ने भन्दै सक्नेजति योजना गरी संवेदनशील भएर काम गर्न निर्देशन दिए ।

मन्त्रालयमा उपस्थित निर्माण कम्पनीका प्रतिनिधिहरूले भने मेलम्ची पानीको पाइप बिच्छाउँदा सक्दोरूपमा वातवरणमैत्री भएर काम गरेको बताए । करिब सय प्रतिशत खाल्डो खन्ने काम पूरा भइसकेको र सडक पुरिसकेको हुनाले गत वर्षको तुलनामा मेलम्ची योजनाबाट धुलो कम उडेको दाबी गरेका छन् ।

उपत्यकामका वायु प्रदूषण बढाउनमा मेलम्ची निर्माणको पनि केही प्रतिशत जिम्मेवार रहेको मेलम्ची–२ का आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले बताए । ‘यीमध्ये हामी पूरै सचेत छौं, तै पनि १० प्रतिशत आयोजना जिम्मेवार हुन सक्छ,’ उनले भने । मागभित्र उपत्यकाका चक्रपथभित्रका व्यस्त सडकमा पाइपलाइन बिच्छ्याउने काम पूरा हुने जानकारी दिंदै मेलम्ची प्रदूषण स्वतः नहुने बताए । ‘उपत्यकामा ०७४ भित्रै पानी झरिसक्छ, त्यसको ६ महिनामा सबैतिर हेर्न समय लाग्नसक्छ,’ उनले भने ।

कार्यक्रममा सहभागी निर्माण कम्पनीका ठेकेदारले भने निर्माणको क्रममा प्रदुषण न्यूनीकरण सम्झौताअनुसार गरेको दाबी गरेका छन् । वातवरण मन्त्रालयको अध्ययनअनुसार ५३ प्रतिशत निर्माणका कारण, १० प्रतिशत इँटाभट्टाले, यातायातले ३० प्रतिशत, ९ प्रतिशत कलकारखाना र ७ प्रतिशत अन्य कारणले उपत्यकामा प्रदूषण भएको तथ्यांक छ ।