काठमाडौं-लिग लिडर म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति सर्जियो अग्युरोको ह्याट्रिकको मद्दतमा घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ३ – १ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले ह्याट्रिक गरे । न्युकासलका ज्याकब मुर्फेले एक गोल फर्काए । जितसँगै उपाधि होडमा एक्लो रहेको सिटीले लिगमा १२ अंकको अग्रता कायम गरेको छ ।


ADVERTISEMENT


अग्युरोले म्यानचेस्टर सिटीबाट यो सिजन सबै प्रतियोगितामा गरेर २२ गोल गरिसकेका छन् । सिटीलाई महत्वपूर्ण जित दिलाएका अग्युरोले यो सिजनको दोस्रो तथा समग्रमा सिटीबाट ११ औँ पटक ह्याट्रिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


इतिहाद स्टेडियममा खेलको ३४ औं मिनेटमा अग्युरोले गोल गर्दै घरेलु टोलीलाई १ – ० को अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई २ – ० को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा न्युकासलका ज्याकबले एक गोल गरेपछि खेल २ – १ को स्थितिमा पुग्यो । तर, खेलको ८३ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि सिटीले ३ – १ को सहज जित निकाल्यो ।

यो जितपछि सिटीले २४ खेलबाट ६५ अंक जोडेको छ। पराजित न्युकासल २३ अंक जोडेर लिगको १५ औं स्थानमा छ। जितपछि सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १२ अंकले अघि छ। दोस्रो स्थानको युनाइटेडको ५३ अंक रहदा तेस्रो स्थानको चेल्सीको ५० अंक छ ।