काठमाडौँ– नेपाल र भारतबीचको राजनीतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढीकरणका लागि दुवै देशका सञ्चार क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।


ADVERTISEMENT


भारतको मखनलाल चतुर्वेदी पत्रकारिता तथा आम सञ्चार राष्ट्रिय विश्वविद्यालयले काठमाडौँमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक दुईदिने सम्मेलनका क्रममा सहभागीले नेपाल सानो भए पनि प्राकृतिक र सांस्कृतिक वैभवयुक्त र भारत उदाउँदो अर्थतन्त्रको मुलुक भएकाले आपसी सम्बन्ध सुदृढीकरणमा योगदान पुग्ने बताए ।


ADVERTISEMENT

# # #


सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दुई देशबीचमा राजनीतिक तथा जनता–जनताबीचको सम्बन्ध सुधारका लागि पत्रकारिताले चासो देखाउनुपर्ने बताए । उनले भने, “संसारमा कुनै त्यस्तो देश हुँदैन, जहाँ राजनीतिको लगामबिना अर्थतन्त्रको घोडा दौडिएको होस्, त्यसैले राजनीतिक स्थिति सबल बनाउन सञ्चार क्षेत्रले सहयोग गर्नुपर्छ ।”

सो अवसरमा भारत उत्तराखण्ड राज्यका पूर्वसांसद तथा पत्रकार तरुण विजयले गोर्खाली वीरताबाट विश्वमा चिनिएका नेपाल आफूहरुका लागि वैभवयुक्त र माइती देश लाग्ने भएकाले यहाँबाट सिक्न सकिने विषय धेरै भएको उल्लेख गरे । उनले नेपाली सञ्चारमाध्यमले भारतको अन्तर्राष्ट्रिय विकाससम्बन्धी समाचारलाई त्यति महत्व नदिएको गुनासो पनि गरे ।

कूटनीतिज्ञ डा जयराज आचार्यले नेपाललाई हिन्दू राष्ट्र बनाउन अधिकांश नेपाली जनताले संविधानसभालाई सुझाव दिए पनि संविधानमा धर्म निरपेक्ष राज्य बनाइएकाले यहाँका जनता र भारतीय जनतामा पनि त्यसबारे समान चासो पाइएको बताए। सो विश्वविद्यालयका उपकुलपति बिके कुथौलाले आफ्नो विश्वविद्यालयले भारत र अन्य देशमा पनि पत्रकारितासम्बन्धी छलफल र अध्ययनका क्रममा नेपालमा कार्यक्रम आयोजना गरेको स्पष्ट पारे।

सम्मेलनको एक सहयोगी संस्था काठमाडौँ विश्वविद्यालयका पत्रकारिताका अध्यापक डा निर्मलमणि अधिकारीले नेपाल र भारतबीचका समानता र असमझदारीका मुद्दामा पत्रकारिताका आयमबाट विज्ञबीच छलफल गरिने बताए ।