विकास र समृद्धिको ज्वारभाटा ल्याउने बाम गठबन्धनको संकल्पलाई जनताले अनुमोदन गरेका छन् । माउपाटी नेकपा एमालेले अब देश हाँक्ने तयारी गरिरहँदा युवा संगठनको नेतृत्व र भूमिका कस्तो बनाउने भन्ने बहस टड्कारोे बनेको छ । आज हामीले राजनीतिक क्षमता, व्यवहार र दृष्टिकोणमा अब्बल देखिएका एक युवा नेतालाई भेटाएका छौं, जस्को नाममा युवा संघ नेपालको रथ हाँक्ने सवाल अन्तरगत आम सहमतीको मन जुट्ने सर्बेक्षण पाईएको छ ।


ADVERTISEMENT


युवा संघ नेपालका सचिवालय सदस्य रमेश आचार्यलाई बाम विजयको सशक्त युवा योद्धाका रुपमा समेत चिनिएको छ । समृद्ध नेपाल बनाउने ‘वेटिङ’ प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय २०६८ साउन २३ देखि २०७४ भदौ मसान्त सम्म सम्हालेका आचार्यले आफूलाई राजनीतिमा लामो दौडकै घोडाको रुपमा उतारिरहेको युवा पङ्ती र नेताहरुको बिश्लेषण छ ।


ADVERTISEMENT

# # #


ओली प्रधानमन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारीमा खेलेको जनसम्पर्क व्यवस्थापकीय भूमिकाले जनसम्पर्क व्यवस्थापनमा पोख्त रहेको कुरा कार्यकर्ताहरु मुक्तकण्ठले प्रसंसा गर्छन ।

संगठनमा प्राकृतिक प्रकोप न्यूनिकरण विभागका प्रमुखको जिम्मेवारी पाएसंगै गरेको काठमाडौं नयाँ बानेश्वरका सुकुम्बासी पीडितहरुको दुखमा सहयोग, सिरहा जिल्ला बिष्णुपुर कट्टीमा आगलागी पीडितका लागि राहत वितरण, सप्तरीको त्रिहुत नपा, त्रिकौला गाउँपालिका, सिरहाको कल्याणपुर नपा, सर्लाहीको हरिवन नपाका बिभिन्न वडाहरुमा राहत पूर्याएर जनताको मन जित्न सफल, सिरहाको कल्याणपुर स्थित मुसहर र डोम बस्तीहरुमा शीतलहर पीडित जनताहरुको घरमा बितरण गरेको राहतको गुणगान सर्बत्र छ ।

कलिलै उमेर देखि जनता र देशको चिन्ता गर्ने आचार्य २०५२ सालमा कक्षा ७ मा पढ्दै गर्दा अनेरास्वबीयु ज्योति मावि केवलपुर धादिङ प्रारम्भिक कमिटिको सचिव र अध्यक्ष बन्दै राजनीतिमा अभ्यस्त बनेका हुन् । सदस्य हुँदै २०५७ मा कोषाध्यक्ष, २०५८ मा सचिव र २०५९ मा अनेरास्वबीयु धादिङको अध्यक्ष हुन् उनी । निरन्तरको अनुभवले खारिँदै अघि बढेका आचार्य २०६१ मा अनेरास्वबीयु राष्ट्रिय परिषद सदस्य, २०६३ मा केन्द्रीय सदस्य, २०६५ मा सचिवालय सदस्य र २०६७ को जनकपुर महाधिबेशनमा कोषाध्यक्षका उपबिजेता हुन् ।

बिधार्थी राजनीतिमा होमिदै गर्दा नेकपा एमालेले बिश्वास गर्न लायक बनेका उनी २०५५ कार्तिक सात गतेबाट पार्टी संगठित सदस्यका रुपमा उदाए ।

बोलीमा मृदुभाषि , मनमा देश र जनता, दृष्टिकोण र विचारमा दूरगामी चिन्तन गर्न सक्ने व्यक्तिको संज्ञा पाएका युवा संघ नेपालको भावि नेतृत्व गर्न सक्ने चर्चाको रुपमा रहेका आचार्यसंग हिमालय पोष्टले गरेको बिशेष संवाद ।

निर्वाचनको मत परिणाम सार्वजनिक भएको पनि महिना कटिसकेको छ । वाम गठबन्धनले यथेस्ट बहुमत पाए पनि सरकार निर्माणमा ढिलाई भइरहेको छ । खासमा जनताले कहिलेसम्ममा नयाँ सरकार पाउँछन् ?

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर प्रत्यक्ष तर्फको मत परिणाम आईसकेपछि त्यसको एक हप्तामै समानुपातिकको परिणाम सार्वजनिक गर्नुपर्ने थियो । तर निर्वाचन आयोगको लाचारीपनका कारण त्यो निर्वाचन परिणाम सार्वजनिक हुन सकेन । जसको कारण सरकार गठनको प्रक्रिया बिलम्ब भयो । अहिलेको तालिका हेर्दा अब आयोगले अरु कुरामा अलमल गरेर पञ्छिन सक्ने अवस्था छैन । माघ २४ गते राष्ट्रिय सभाको निर्वाचनपछि आयोगले अधिकतम एक हप्तामा मत परिणाम सार्वजनिक गर्छ । राष्ट्रियसभा गठन भएको १०–१२ दिनमा नयाँ सरकार गठन हुन्छ ।

जुन मुद्दा लिएर बाम गठबन्धन जनतासामु गयो । त्यसलाई जनताले पनि मत मार्फत अनुमोदन गरिसकेका छन् । यसको बारेमा वामगठबन्धनले गरेको समीक्षा के हो ?

मुख्यतः यो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनताले तीनवटा कुरा पुरा हुने अपेक्षाका साथ भाग लिएका थिए । पहिलो राष्ट्रिय स्वाधिनता, दोश्रो राजनीतिक स्थायित्व र तेश्रो आर्थिक समृद्धि । राष्ट्रिय स्वाधिनता नयाँ उचाईमा पुगोस्, राजनीतिक स्थायित्व कायम होस् र मूलुक आर्थिक समृद्धिको दिशा तर्फ अगाडी बढोस् भन्ने जनताको चाहना छ । यसलाई पुरा गर्नका लागि बाम गठवन्धनलाई जनताले मत दिएका छन् । यो गठवन्धन नेकपा एमालेको नेतृत्वमा, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारले राष्ट्रिय स्वाधिनता, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नेतृत्व गर्छ । यही अपेक्षाका साथ जनताले भोट दिएका हुन् ।

अब मुलुक आर्थिक समृद्धितिर अघि बढ्छ भन्ने नाराहरु धेरै आए । वाम गठबन्धनले पनि जनतालाई आर्थिक समृद्धिको चरणमा प्रवेश गराउछौँ भनिरहेको छ । यसको आधार जनताले खोजिरहेका छन् । अब वाम गठबन्धनले देशमा कसरी विकास र समृद्धिको लहर ल्याउँछ ?

यसमा वाम गठबन्धनको तर्फबाट चुनावमा जाँदा संयुक्त रुपमा जारी भएको घोषणापत्र हेर्नुभयो भने त्यहाँ मोटो खाका छ । त्यो संयुक्त घोषणापत्रले ५, १० र २५ वर्षे विकास र समृद्धिका योजनाहरुलाई प्रस्तुत गरेको छ । विकास र समृद्धिको कुरा आजको भोलि, भोलिको पर्सी नै तयार हुने कुरा होइन । मुख्य कुरा यसलाई हामीले योजना तालिकामा सम्पन्न गर्नुपर्छ । त्यसको लागि सबैभन्दा पहिले संविधानमा उल्लेख भएका जनताका आधारभुत आवश्यकताहरु पाँच वर्षभित्र पूरा गर्नेगरी त्यो घोषणा पत्रले प्रतिवद्धता व्यक्त गरेको छ ।

दोश्रो १० वर्ष भित्रमा यो देशलाई विकासशील राष्ट्रको स्थानमा पुर्याउने लक्ष्य यो घोषणा पत्रले तय गरेको छ । त्यसैगरी २५ वर्षभित्रमा अन्य देशको निर्भरतामा बाँच्नु नपर्ने आत्मनिर्भर देशको हैसियतमा पूर्याउने लक्ष्य यसले तोकेको छ । ३५ वर्षमा यो देश यस्तो हुनेछ कि सबै हिसाबले संसारको सबैभन्दा धनी देश हुनेछ । अन्य देशलाई यसले सहयोग गर्ने हैसियतको रुपमा स्थापित हुनेछ । नारामात्र नभएर विकासको कार्य तालिका सहित प्रस्तुत गरेको हुनाले आगामी सरकारले यी कुरा पुरा गर्न सक्छ भन्ने कुरा हामीलाई लागेको छ ।

यसका लागि देशभित्रको आन्तरिक राजनीति र भूराजनीतिले पनि प्रभाव पार्न सक्छ भन्ने तर्फ वाम गठबन्धनले कत्तिको ध्यान पूर्याएको छ त ?

तपाईले भौगोलिक परिस्थितिको कारणले गर्दा अलि जटिल छ कि भन्ने खालको संकेत गर्नु भएको छ । तर हाम्रो देशको भौगोलिक अवस्थिति, सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको विविधताले विश्वमा नेपालको अवस्थिति अन्य देशको भन्दा उत्कृष्ट रहेको छ । भौगोलिक अवस्थितिका हिसाबले हामी अत्यन्तै सही ठाउँमा छौ । विश्व अर्थतन्त्रमा पकड जमाएको शक्ति चीन र उदाउँदै गरेको भारत हाम्रा छिमेकी छन् । यो हाम्रा लागि ठूलो अवसर पनि हो । अवसर समुद्रको जत्रो भएपनि हामी झिंगाको मानसिकता लिएर हिडिरहेका छौ । अब बन्ने सरकारले दुबै देशबाट त्यही खालको सम्बन्ध विकास गरेर अनुमान गरेको जटिल परिस्थिति सही रहेनछ भन्ने गरी आगामी सरकारले काम गर्छ ।

अब पार्टी एकताको पनि कुरा गरौँ । एमाले र माओवादी केन्द्रबीच एकिकरणको लागि गृहकार्य पनि भइरहेको छ । तर नेताहरुको व्यवस्थापन र पार्टी सिद्धान्तका कुराले परिस्थिति त जटिल बन्दै गइरहेको जस्तो छ नि, खास के हो ?

२००६ सालपछि नेपालमा विभिन्न समयमा खुलेका विभिन्न कम्युनिस्ट पार्टीको लक्ष्यको कुरा गर्नुपर्दा समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य सबैले तय गरेका छन् । तर त्यो लक्ष्य प्राप्त गर्ने सन्दर्भमा कुन बाटोबाट जाने भन्ने बारेमा नेपालका कम्युनिस्ट पार्टीहरुबीच असहमतीहरु रहे । जसका कारण नेपालका कम्युनिस्ट पार्टीहरु छुट्टाछुट्टै पसल थापेर बसिरहेको जस्तै अवस्था थियो । यो देशमा ६७ प्रतिशतभन्दा बढी मत कम्युनिस्टको हुँदाहुँदै पनि लक्ष्य विभाजित भएका कारण जन अपेक्षा अनुसार काम हुन नसक्ने र कम्युनिस्ट पार्टीले बोकेको उद्देश्य पनि पुरा हुन नसक्ने अवस्था निर्माण भएको थियो । यो निर्वाचनमा एमाले र माओवादी केन्द्रले हामी मिलेमा मात्र यो देशमा जनताको अपेक्षा पुरा गर्न सकिन्छ र उद्देश्य एउटै भएकाले अन्य कम्युनिस्ट पार्टीलाई पनि संगै लैजान सकिन्छ भनेर यो यात्रा अगाडि बढेको हो ।

यो यात्रा धेरै पहिले अगाडि बढ्नु पर्ने थियो । केपी शर्मा ओलीको सरकार निर्माण भएका बेला युवासंघ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा प्रचण्ड निवासमा गएर सरकारमा सहकार्य मात्र नगरेर पार्टी एकता पनि गर्नुपर्यो भनेर हामीले भनेका थियौँ । जुन बिन्दुबाट युवा संघले त्यो कदम चाल्यो । आज त्यो चाहना पूरा भएको छ ।

माओवादी र एमालेका बीचमा एकता हुन नदिनका लागि बाहिर जे चर्चा भएका छन्, ती गलत छन् । एमालेका अध्यक्ष देखि केन्द्रमा रहेका नेताहरु र माओवादी केन्द्रका अध्यक्षदेखि केन्द्रमा रहेका नेताहरुले नचाहे पनि अब कार्यकर्ताको बलमा पार्टी एकता हुन्छ । तर उहाँहरु यसलाई छिटो टुंगोमा पुर्याउनका लागि बसिरहनु भएको छ । सहमती अन्तिम चरणमा पुगेको सूचना हामीले पाएका छौं ।

तर नयाँ बन्ने एकिकृत पार्टीको नेतृत्व कसले गर्ने र सरकारमा कसले नेतृत्व गर्ने, पार्टीको सिद्धान्त के हुने भन्नेमा विवाद छ भन्ने त सतहमा नै देखिएको छ नि ?

यसको बारेमा मिडियामा र बाहिरी बजारमा पनि विभिन्न चर्चाहरु भएका छन् । कुराहरुको पनि एउटा तह हुन्छ । नेपालमा माओवादी र एमालेबीच एकता हुने भन्ने कुरा सामान्य कुरा होइन । धेरै सहज र धेरै जटिल कामहरु पनि छन् । दुईवटा पार्टी मिलाउँदा सांगठानिक संरचना पनि मिलाउनु पर्यो । त्यसपछि राजनीतिक मुद्दाहरु मिलाउनु पर्यो । वैचारिक कुराहरु मिलाउनु पर्यो । यी विषयहरु नेतृत्व तहबाट नै टुंगो लाग्छन् , अहिले नेतृत्वको तहमा नै छलफलको बिषयका रुपमा रहेका छन् । यदी उल्लेखित बिषयहरुमा हामीले आफ्ना धारणाहरु राख्नुपर्ने आवश्यकता दुबै पार्टीले ठानेमा हामी संगठित भएको कमिटी भित्र नै छलफलको बिषय बनाई आधिकारिक धारणा सार्बजनिक गर्नेछौं ।

तपाईहरु युवासंघको नेतृत्व गर्नुहुन्छ । देश विकासका लागि युवाहरुको योगदान पनि उत्तिकै हुन्छ । अब माउ पार्टीको सरकार बन्ने भइसकेपछि युवासंघ नेपालको भूमिका कस्तो हुन्छ ?

यो एकदमै महत्वपूर्ण बिषय हो । २०४७ सालमा स्थापना हुँदा यसको नाम प्रजातन्त्रिक राष्ट्रिय युवा संघ थियो । अहिले युवा संघ नेपाल भएको छ । यो अवधिमा नेपालको राजनीतिक परिवर्तनका लागि हामीले महत्वपूर्ण भूमिका खेल्यौँ । २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले नेपालका राजनीतिक उपलब्धीलाई संस्थागत गरेको छ । हामीले एक तहको राजनीतिक सफलता प्राप्त गरेका छौ । अब हामीले हाम्रो भूमिकालाई परिवर्तन गर्नुपर्छ । हाम्रो भूमिका सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणमा केन्द्रित हुनुपर्छ । विभेद र विकृतिलाई हटाएर सामाजिक – साँस्कृतिक रुपान्तरण गर्न हामीले सक्नुपर्छ ।

दोस्रो, आर्थिक हिसाबले जनताको जीवनशैलीले गरिब देखिए पनि यो देश गरिब होइन । जातजाती, भाषा, धर्म, हावापानी, प्राकृतिक स्रोत साधनका हिसाबले संसारको सबैभन्दा धनी देश हो । नेपाललाई जबरजस्त गरिब बनाइएको छ । अब युवसंघ नेपाल त्यो गरिबी अन्त्य गर्नतिर लाग्नुपर्छ । अब हाम्रो लडाई त्यो गरिबीसंग छ । पछौटेपन र अविकाससंग छ । समृद्ध नेपाल निर्माणका लागि १६ देखि ४० वर्षसम्मका युवालाई परिचालन गर्न र विदेशिएका युवाहरुलाई स्वदेशमा फिर्ता गरेर विदेशमा सिकेका सीप र अनुभवलाई नेपालको विकासमा प्रयोग गर्ने वातावरण सिर्जना गर्ने गरी आगामी बन्ने सरकारलाई काम गर्न हामी दबाब दिन्छौ ।

तर यहीबेला युवासंघ नेपालमा केही विवाद उत्पन्न भएको गाईगुईँ सुनिन्छ नि । खासमा कुरा चाहीँ के हो ?

तपाईले भनेको जस्तो विवाद छैन । किन छैन भने युवासंघको विवाद भनेको कोही साथीले आफूलाई मन नपरेको कुरा चिया पसलमा गर्नु, कुनै व्यक्तिलाई भेटेर भन्नु त्यो फरक कुरा हो । तर त्यो साथीले युवा संघको बैठकमा के बोल्यो ? सचिवालयको बैठकमा के बोल्यो ? स्थायी समितिको बैठकमा के बोल्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । राजीव पहारी अध्यक्ष भइसकेपछि आजका मितिसम्म भएका केन्द्रिय समितिका बैठकमा कसैको असहमतीका साथ जबरजस्त निर्णय भएका छैनन् । सबैको सहमतीमा बैठक सम्पन्न भएका छन् । त्यसकारण कुनै चिया पसलमा भनेका कुरालाई विवादका रुपमा लिनु हुँदैन ।

युवा संघको महाधिवेशनका बिषयमा पनि बताईदिनुस्, नेतृत्वमा चर्चा त तपाईँकै सुनिन्छ नि ?

खासगरी महाधिवेशन धेरै अगाडि गरिसक्नु पर्ने थियो । तर देशको राजनीतिक परिस्थिति र हाम्रो संगठनले गर्नुपर्ने दायित्वले गर्दा महाधिवेशन ढिला भएको हो । किनभने २०७४ साल बैशाखबाट निर्वाचनका प्रकृया अगाडि बढे । हामीले गत फागुनमा महाधिवेशन गर्ने सोच बनाएका थियौँ । तर फागुनमा महाधिवेशन गरेर बैशाखमा स्थानीय चुनावमा जान हामीलाई अप्ठ्यारो थियो । जसको कारण पार्टीले सबै संगठनका महाधिवेशन स्थगन गर्ने र अरुलाई नतोक्नका लागि अनुरोध गर्ने निर्णय गर्यो । हामी पार्टीभन्दा बाहिर जान सक्दैनौँ । त्यस कारण रोकिएको हो । अब चाँडै नै टुंगो लाग्छ । अर्को कुरा महाधिवेशनको मिति नै नतोकिकन मैले आउँदो राष्ट्रिय महाधिवेशनका लागि नेतृत्वमा आउने इच्छा छ भन्नु अलि हतारो हुन्छ कि भन्ने हो । समय आएपछि पार्टी, संगठन र देशका लागि निभाउनुपर्ने जिम्मेवारीमा म सँधै तयार नै छु ।

‘सुखमा पनि युवा संघ, दुःखमा पनि युवा संघ’ भन्ने नाराका साथ तपाईहरुले भर्खरै तराईका शितलहर पीडितलाई न्यानो वितरण गरेर आउनुभएको छ । कस्तो अवस्था पाउनुभयो जनताको ? के कस्ता सहयोग गर्नुभयो ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि हाम्रा संगठनका गतिविधिहरु, तल्ला कमिटिका बैठकहरु राखेर निर्वाचनको समीक्षा गर्ने काम भइराखे पनि राष्ट्रिय रुपमा महत्व राख्ने काम नभरहेको जस्तो देखिएको थियो । तर गत माघ ५ गते प्रदेश नं २ को कल्याणपुर नगरपालिकाको डोम र मुसहर बस्तीमा हामीले न्यानो कपडा वितरण गर्यौँ । हामीले राहत भनेनौ, त्यो राहत होइन । हामीले के भन्यौँ भने सुखको बेला पनि युवासंघ दुःखको बेला पनि युवासंघ भनेर काम गर्यौं ।

युवा संघ नेपालले राष्ट्रियताका लागि, लोकतन्त्रका लागि, जनजीविकाको लागि आफ्नो स्थापनाकाल देखि नै महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । जतिबेला जनजीविकामा कठिनाई उत्पन्न हुन्छ । जतिबेला जनता अप्ठ्यारोमा पर्छन । त्यतिबेला हामी सधैभरी जनताको स्वयमसेवकको रुपमा काम गरेका छौँ । चाहे त्यो ०७२ सालको भूकम्पले थिलथिलो बनाएको ठाउँहरुमा राहत, उद्दार वा पुननिर्माणका कार्यमा हाम्रा स्वयमसेवक परिचालित भएको होस् वा तराईमा बाढीले पूर्याएको घाउमा मल्हम लगाउने कुरामा हामी सधै जनताको साथमा रहेका छौँ । एउटा कुरा के हो भने तराईमा शीतलहरले जनजीवन प्रभावित भएको होइन ।

त्यहाँको गरिबीले समस्या निम्त्याएको हो । न्यानो कपडा किन्ने हैसियत नभएपछि जनजीवन प्रभावित भएको हो । गरिबीकै कारण शितलहरको निउँमा त्यहाँका जनताले ज्यान गुमाउँछन् । अब त्यस्तो हुन नदिनका लागि सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्छ । त्यही सन्देश दिने उद्देश्यले हामी सिरहाको कल्याणपुर गयौँ ।

हामी त्यहाँ जाँदा धरै ठूलो सहयोग भएको त्यहाँका जनताले अनुभूति गरे । युवा संघ नेपालले तराईका सबै पीडितहरुलाई राहत स्वरुप गाँस, वास, कपासको व्यवस्था गर्न सक्दैन । हामीले गर्ने भनेको सम्बन्धित निकायलाई काम गर्नका लागि बिउँझाउने हो । त्यही प्रयास गरेका हौँ । नेपाल सरकारले आगामी दिनमा यस्ता सामान्य घटनाले जनजीवन प्रभावित बन्न नदिनका लागि काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले चार सय घर परिवारलाई न्यानो वितरण गरेका हौँ । भौगोलिक हिसाबले राजनीति गर्ने दलहरुलाई हामीले चुनौति पनि दिन्छौँ । उहाँहरु कुनै ठाउँ विशेषको राजनीति गरेर ठाउँमा पुगिसकेपछि जनतापट्टी फर्केर पनि नहेर्ने प्रवृत्तिको अन्त्यका लागि पनि हाम्रो यो अभियान थियो ।

अन्त्यमा, सरकार निर्माणको लागि तम्तयार भएर बसेको माउपार्टी र त्यो स्थानसम्म पुर्याउने जनताको लागि के भन्नुहुन्छ ?

जनताले स्वाधिनता, स्थीरता र समृद्धिका लागि वाम गठबन्धनलाई भोट हालेका छन् । आगामी बन्ने सरकारले प्राथिमकता क्रम तोकेर विकासका दुईवटा मोडल, जसमा पहिलो भनेको जनताले माग्ने विकास । बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका कुराहरु पुरा गर्नका लागि जनताले भन्ने कुरा र त्यो पुरा गरिदिने कुरा हो । यो मोडलबाट मात्रै हामीले बनाउन चाहेको देश निर्माण गर्न सकिँदैन । अर्को, सरकारको तहबाट नै योजनाबद्ध ढंगले गर्ने विकासको मोडल । यी दुईवटा मोडललाई आगामी सरकारले प्रयोग गर्नुपर्छ ।

हामीले जनताले मागेको विकासलाई छोडेर राज्यले बनाएको योजनालाई मात्रै ध्यान दियौँ भने विकासमा जनतालाई सहभागी गराउन सकिन्न । विकासमा जनताको सहभागिताबिना त्यो सम्भव हुन्न । योजनाबद्ध विकासका काम छोडेर जनताले मागेको मात्रै विकास गर्ने हो भने पनि हाम्रो देशको सम्भावना र सपना पुरा गर्न सकिँदैन । यी दुईवटा मोडललाई आगामी सरकारले एकैसाथ अघि बढाउनुपर्छ । यसले नै जनताको आशा अनि आकांक्षालाई पुरा गर्नसक्छ ।

विकास र समृद्धिको हाम्रो गन्तब्य सम्म सफलतापूर्वक यात्रा तय गर्न सकिन्छ ।