काठमाडौं-राजधानीमा मेलम्चीबाट आउने खानेपानी वितरण गर्न बिछ्याउनुपर्ने करिब तीन सय किलोमिटर पाइपको काम बजेट अभावमा रोकिएको छ । करिब आठ अर्ब रुपैयाँ नपुग्दा धुम्बाराही, महाराजगन्ज, सामाखुसी हुँदै कलंकीसम्मको क्षेत्रमा नयाँ पाइप बिछ्याउने काम अघि बढ्न नसकेको हो । मेलम्ची खानेपानी आयोजनाले तीन साताअघि ६३ दिनमा टनेल ‘ब्रेक थ्रु’ हुने र सय दिनमा ‘लाइनिङ’ (फिनिसिङ) हुने दाबी गरेको छ।


ADVERTISEMENT


आयोजनाका अनुसार राजधानीमा हालसम्म ६ सय ४४.२४ किलोमिटर पाइप बिछ्याइसकिएको छ भने अझै ८ सय १० किलोमिटर बिछ्याउन बाँकी छ । यसरी हेर्दा ४५ हजार १ सय ८६ घरमा पाइप पुर्‍याइसकिएको छ भने ८४ हजार दुई सय १७ घरमा पुर्‍याउन बाँकी छ । धुम्बाराहीदेखि कलंकीसम्म करिब ६० हजार घरमा पाइप पुर्‍याउनुपर्ने देखिन्छ ।


ADVERTISEMENT

# # #


आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले पाइप बिछ्याउन बाँकी मुख्य ठाउँ धुम्बाराहीदेखि कलंकीसम्मका लागि एसियाली विकास बैंकसँग छलफल भइरहेको जानकारी दिए । उनले शुक्रबार सञ्चारकर्मीसँग भने, ‘एडीबीसँग कुरा मिल्यो र काम थालिहाल्यौं भने यी क्षेत्रमा नयाँ पाइप बिछ्याउन कम्तीमा दुई वर्ष लाग्नेछ ।’ अन्य विभिन्न ठाउँमा करिब २५ हजार घरमा पनि पाइपलाइन जोड्न बाँकी छ । त्यसका लागि काम भइरहेको आयोजनाको भनाइ छ ।

१० वटा ट्यांकी बनाइँदै

मेलम्चीको पानी वितरणका लागि सरकारले उपत्यकाभित्र विभिन्न स्थानमा १० वटा ठूला ट्यांकी (रिजर्भवायर) बनाउने काम अन्तिम चरणमा पुर्‍याएको छ । काठमाडौंको कीर्तिपुर, आरुबारी, महांकाल चौर, बालाजु, बाँसबारी र महाराजगन्ज, ललितपुरको खुमलटारमा दुई वटा र भक्तपुरको टिगनी र कटुञ्जेमा ट्यांकी निर्माणाधीन छन् । १० वटै ट्यांकीको जम्मा क्षमता सात करोड ४५ लाख लिटर छ ।

करिब ९५ लाख लिटर क्षमताका १० वटा ट्यांकीमा पठाउनुअघि मेलम्चीबाट आउने पानीलाई फिल्टर गर्न सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताको ट्रिटमेन्ट प्लान्ट निर्देशनालय बनाइसकिएको छ । सँगै अर्को त्यति नै क्षमताको ट्रिटमेन्ट प्लान्ट पनि निर्माण भइरहेको छ । पहिलो प्लान्टमा बागमती नदीको पानी परीक्षण गरिसकिएको छ । यसैगरी, चक्रपथको २७.५ किलोमिटरमा पनि पानी वितरणको परीक्षण भइसकेको ढकालको भनाइ छ ।

ढल प्रशोधनलाई साढे १३ अर्ब

सरकारले मेलम्चीको पानी वितरणपछि उत्पन्न हुने ढल प्रशोधनका लागि करिब साढे १३ अर्ब रुपैयाँ खर्च गरिरहेको छ । मेलम्चीबाट आउने १७ करोड र हालको करिब ८ करोड लिटर पानी प्रयोगपछि प्रशोधन गर्न एसियाली विकास बैंकको एक सय ३६ मिलियन डलर सहयोगमा निर्देशनालयले ढल प्रशोधन केन्द्र बनाउन लागेको हो ।

निर्देशनालयका अनुसार काठमाडौंको गुह्येश्वरी, ललितपुरको धोबीघाट र खोड्कु तथा भक्तपुरको सल्लाघारीमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रवक्ता ढकालले भने, ‘यी केन्द्रमा अत्याधुनिक प्रविधि जडान गरिने भएकाले आसपासमा कुनै प्रकारको दुर्गन्ध फैलिने छैन । यो क्षेत्रमा हरियाली बनाएर मर्निङ वाकका लागि उपयुक्तसमेत बनाउँदै छौं ।’

२५२ ठाउँमा ‘फायर हाइड्रेन्ट’

काठमाडौं उपत्यकाभित्र आगलागी भए त्यसका लागि आवश्यक पर्ने पानीका लागि दुई सय ५२ स्थानबाट दमकलमा पानी भर्ने सुविधासमेत तयार पारिँदै छ । निर्देशनालयले हालसम्म ८४ स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिसकेको छ भने एक सय ६८ ठाउँमा निर्माण गर्दै छ।