काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनदेखि लगातार छलफल भइरहेको छ । यही सिलसिलामा दुई नेताबीच आइतबार पनि मानभवनको एउटा घरमा चार घन्टा लामो छलफल भयो ।


ADVERTISEMENT


लगातार तीन दिनदेखि भइरहेको सघन छलफलबाट के दुई पार्टीबीच एकताको विषय टुङ्गिन लागेको हो ? एमाले र माओवादी अध्यक्ष दुवै जनाले यस विषयमा कुनै प्रतिक्रिया नदिए पनि दोस्रो तहका नेताले भने सघन छलफललाई शुभ सङ्केतका रूपमा प्रतिक्रिया दिएका छन् । माओवादी नेता मातृका यादवले दुई नेताबीच सरकार गठन र पार्टी एकतामा केन्द्रित भएर छलफल भइरहेको जानकारी दिएका छन् । “माघ १२ गते साँझ भक्तपुरको एक गोप्य ठाउँमा अध्यक्षद्वयबीच गम्भीर वार्ता भएको थियो । त्यसयता लगातार तीन दिनदेखि वार्ता जारी छ”, उनले बताए । नेता यादवले छलफलबाट को प्रधानमन्त्री हुने ? को पार्टीको अध्यक्ष हुने ? भन्ने विषयमा निष्कर्ष निस्कन बाँकी रहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


नेता यादवका अनुसार दुई नेताबीच शनिबार पनि छलफल भएको थियो । त्यही कडीमा आइबार बिहानैदेखि चार घन्टासम्म ललितपुरको मानभवनमा छलफल भएको थियो । ‘वन टु वान’ तथा फरकफरक गोप्य ठाउँमा यी दुई अध्यक्षबीच छलफल हुन थालेपछि एकता हुने कुरामा वाम गठबन्धनका नेतासमेत आशावादी देखिन थालेका छन् ।

यद्यपि दुई अध्यक्षबीच भइरहको गोप्य छलफलको विषय बाहिर भने आएको छैन तर दोस्रो तहका नेताको दाबीअनुसार दुवै दलका अध्यक्षहरू आआफ्नो अडानमा कायम रहेका छन् । एमालेले प्रधानमन्त्री र पार्टी अध्यक्षको दाबी छाडेका छैन भने माओवादी केन्द्र सरकारको नेतृत्व एमालेले गरे पार्टी अध्यक्षको जिम्मेवारी माओवादीलाई दिनुपर्ने अडानमा छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले ‘गिभ एन्ड टेक’ नगर्दा पार्टी एकता प्रक्रिया अगाडि नबढ्ने बताए । उनले दुई अध्यक्षको साझा सहमति र नेतृत्व क्षमतामै पार्टी एकता सम्भव हुने दाबी गरेका छन् । “यसअघि असोज १७ गतेको छबुँदे सहमति पनि नेतृत्वको सहमतिमै सम्भव भएको हो, अब हुने कुनै पनि सहमति नेतृत्वको चाहना र क्षमतामै सम्भव छ”, उनले भने ।

माओवादी केन्द्रले भने सरकार गठनअघि नै पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ । नेता यादवले भने, “एमाले र माओवादी केन्द्रबीच एकता हुँदैन भन्ने कुरामा शङ्का गर्नु हुँदैन र यसलाई जति छिटो टुङ्ग्यायो त्यति राम्रो हुन्छ । ” सरकार गठनअघि पार्टी एकता नभए पनि एकताको विश्वासिलो आधार तयार हुनुपर्ने माओवादी केन्द्रको धारणा रहेको उनले बताएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकता प्रक्रिया र सरकार गठन प्रक्रिया विल्कुलै अलगअलग विषय भएकाले एकै ठाउँमा राखेर हेर्न नहुने बताए । उनले भने, “सरकार गठन प्रक्रिया एउटा विषय हो, पार्टी एकता प्रक्रिया अर्को विषय, यसलाई एउटै डालोमा राखेर हेरिनु हुँदैन । ”

उनले अध्यक्षद्वयबीच दुवै पार्टीको भावनाअनुरूप वार्ता अगाडि बढेको बताएका छन् । उनले स्वाभाविक रूपमा पार्टी एकता प्रक्रियाभन्दा सरकार गठनको प्रक्रिया चाँडो हुने र वार्ता त्यसैअनुरूप अगाडि बढिरहेको स्पष्ट गरेका छन् ।

मुख्यमन्त्रीमा नेताबीच सहमति
दुई नेताबीचको भेटमा नयाँ सरकार गठन, प्रदेशसभामा पद विभाजनदेखि लिएर राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा समेत छलफल भएको बताइएको छ ।

अध्यक्षबीचको छलफललगत्तै वाम गठबन्धनको कार्यदलले प्रदेशसभामा मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँट टुङ्गो लगाएको थियो । अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले दुई अध्यक्षबीच राष्ट्रियसभा चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउने विषयमा विस्तृत छलफल भएको जानकारी दिएका छन् ।

स्रोतका अनुसार दुई अध्यक्षबीच प्रदेश ३ मा एमालेबाट अष्टलक्ष्मी शाक्य, ४ मा पृथ्वीसुब्बा गुरुङ र ५ मा शङ्कर पोखरेल तथा प्रदेश ६ मा माओवादीबाट महेन्द्रबहादुर शाही र ७ मा वीरमान चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।