काठमाडौँ – काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आज तराईले भने केही राहत महसुस गरेको छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम आज त्यसभन्दा पनि तल झरेर २.१ डिग्रीमा आएको छ ।


ADVERTISEMENT


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए । उनले आज सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको पनि बताए ।


ADVERTISEMENT

# # #


उनले आज तराईले भने केही राहत महसुस गरेको बताए ।

उच्च बादल अर्थात् पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सु मात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उनले जानकारी दिए । यो हाई क्लाउडले पानी भने नपार्ने उनले बताए । “खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आज साँझ ६ बजेको समयमा धेरै क्षेत्रमा एक हजार मिटरमाथि भिजिबिलिटी छ”, मौसमविद् अर्यालले भने, “जसले हिजोको भन्दा कम कुहिरो हुँदा घाम लागेर राहत मिलेको छ ।”

मौसमविद्का अनुसार भिजिबिलिटी एक हजारभन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ । तराईमा भोलि पनि केही राहत मिल्ने तर जनजीवनमा भने चिसोले असर नै पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ । कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ ।

हिजो भने तराईका अन्य क्षेत्रको ‘भिजिबिलिटी’ अलि धेरै रहे पनि नेपालगञ्ज र धनगढीमा बाक्लो थियो । त्यहाँ तीन सय मिटरसम्म झरेको पनि मौसमविद् अर्यालले बताए ।

उच्च पहाडी भेगमा केही मौसम बदली रहेको र हिमाली क्षेत्रमा हिमपात भने जारी नै रहेको छ ।

विभागले आज साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार दिउँसोको अवस्थामा पनि उस्तै रहने जनाइएको छ । रासस