काठमाडौं-माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


ADVERTISEMENT


ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् । ग्रहणको सुतक भने आज बिहान ८ बजेर ५५ मिनेटदेखि सुरु हुने उनले बताए ।


ADVERTISEMENT

# # #


धर्मशास्त्रीय मान्यतानुसार आजको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नु हुन्छ । पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछिको पहिलो हो ।

यसअघि ब्लु मुन सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन् । चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ ।