काठमाडौँ– अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ्य उत्पादनमा झन्डै सात सय अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले बताएका छन्।


ADVERTISEMENT


प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब दुई सय ३२ अर्ब डलरको नोक्सानी व्यहोरेको छ। साथै अन्तर्राष्ट्रिय बैंकहरूमा रहेको भेनेजुएलाको २२ अर्ब डलरभन्दा बढीको सम्पत्ति पनि रोक्का भएको बोलिभियाली सहर सान्ता क्रुज डे ला सिएरामा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा उपराष्ट्रपतिले उल्लेख गरे।


ADVERTISEMENT

# # #


सन् २०२३ अक्टोबरमा सरकार र विपक्षी दलहरूबीच भएको बार्बाडोस सम्झौतामा अमेरिकाले प्रतिबन्ध हटाउने सहमति भए तापनि पालना नभएको उनको गुनासो छ। उक्त सम्झौताले ‘जनरल लाइसेन्स ४४’का नामले चिनिने राहत भेनेजुएलालाई उपलब्ध भएको भए तापनि राष्ट्रपति निकोलस मादुरोले विपक्षी दलबाट राष्ट्रपतिको उम्मेदवारको दौडमा रहेका नेतालाई चुनावमा अगाडि बढ्न प्रतिबन्ध लगाएपछि बाइडेन प्रशासनले भेनेजुएलामाथि पुनः प्रतिबन्ध लगाएको थियो।

अमेरिकाको पछिल्लो कदम विपक्षी नेतालाई राष्ट्रपतिको उम्मेदवार हुनबाट प्रतिबन्ध लगाउने मादुरोको निर्णयको प्रतिक्रियामा आएको थियो। उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी एकपक्षीय नीतिहरूलाई ध्यानमा राख्दै अब ल्याटिन अमेरिकालाई अनिवार्य रूपमा नयाँ वित्तीय संरचना चाहिएको बताए।

‘यदि हामी नयाँ वित्तीय संरचनाबारे सोच्न चाहन्छौँ भने हामीले आफ्नै मुद्रामा व्यापार गर्नुपर्दछ,’ उनले भने।