काठमाडौं-प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।


ADVERTISEMENT


सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ । जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन नै वीरगञ्ज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर आन्दोलरत संघर्ष समितिले वीरगञ्ज बन्द गरेको हो ।


ADVERTISEMENT

# # #


बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ ।

संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् ।

बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् । यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात माघ ४ गते पनि बन्द आह्वान गरेको थियो ।

शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेका कारण बन्द गर्नुपरेको संघर्ष समितिका सचिव एवं कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए । ‘हामीले शन्तिपूर्ण आन्दोलन गरेका हौं, तर सरकारले सुनिरहेको छैन,’ उनले भने, ‘बाध्य भएर बन्दको आह्वन गर्नुपरेको छ । प्रदेश सभासदलाई पनि दवाव होस् भन्ने हाम्रो उद्देश्य हो ।’

अस्थायी राजधानी जनकपुरलाई तोक्ने संकेत पाएदेखि नै वीरगञ्ज राजधानीका लागि आन्दोलित छ तर वार्ता र संवादका लागि पहल भएको छैन । सोमबार बिहान संघर्ष समितिको बैठक बसेर थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।