काठमाडौं-सोमबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ ।


ADVERTISEMENT


आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘मतपत्र छपाइदेखि सुरक्षा व्यवस्था, कर्मचारी खटपटन र व्यवस्थापकीय सबै तयारी पूरा भएको छ।’ राष्ट्रियसभा निर्वाचनका लागि १० हजारमतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको छ । मतपत्र भने प्रदेशमा मतदान हुने एक दिनअघि मात्रै पुर्‍याइने छ । ‘आइतबार नै मतपत्र सम्बन्धित मतदानकेन्द्रमा पुग्नेछ’, प्रवक्ता ढकालले भने।


ADVERTISEMENT

# # #


आयोगले राष्ट्रियसभा निर्वाचनका लागि रातो र हरियो दुई रङको मतपत्र प्रयोग गर्दै छ । प्रदेशसभाको लागि हरियो र स्थानीय तहको लागि रातो गरी दुई रङका चार प्रकारका मतपत्र प्रयोग गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचनमा महिला, दलित, अपांग र अल्पसंख्यक र अन्य समूह गरी चारवटा मतपत्र प्रयोग हुँदै छ । एक मतदाताले चार ठाउँमा भोट हाल्नुपर्नेछ । एकल संक्रमणीय प्रणालीका मतदाताले तीन वटा मतपत्रमा एक, दुई र तीन अंक दिएर भोट हाल्नुपर्नेछ । बहुमतीयतर्फ महिला र अन्य समूहका लागि भने मतदाताले ‘ठीक चिह्न’ लगाएर भोट हाल्ने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए । एक मतदाताले चार मतपत्रमा आठ भोट दिनुपर्नेछ ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । राष्ट्रियसभामा स्थानीय तहका एक हजार पाँच सय तीन र प्रदेशसभाका पाँच सय ५० गरी दुई हजार ५३ मतदाता छन् ।

ती मतदातालाई भोट हाल्ने तरिकाबारे आयोगले प्रशिक्षण समेत दिइसकेको छ । मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको तीन घेराबाट मजबुत सुरक्षा व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदानअघि र मतगणना अवधिभर तीन वटै सुरक्षाकर्मीले भरपर्दो सुरक्षा प्रदान गर्नेछन् ।-आजको अन्नपुर्णबाट