काठमाडौँ – ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा कतारले मलेसियालाई हराएपछि नेपाल सेमिफाइनल प्रवेश गरेको छ । सोमबार कतारले मलेसियालाई ४ विकेटले हराएसँगै सेमिफाइनलमा नेपालको स्थान पक्का भएको हो ।


ADVERTISEMENT


जारी प्रतियोगितामा नेपालले ३ खेलमा शतप्रतिशत जित निकालेको छ । जसअनुसार नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पाखा लगाएको थियो । यस्तै नेपालले तेस्रो खेलमा आज हङकङलाई ८ विकेटले हराएको थियो ।


ADVERTISEMENT

# # #


यता कतारसँग हारेसँगै मलेसियाको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ । ओमानको अलअमेरातमा वर्षाले प्रभावित बनाएपछि १८ ओभरमा झारिएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै १८ ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाएर जित हात पारेको हो ।

कतारको जितका लागि कमरान खानले सर्वाधिक ३७ रन बनाए भने कप्तान मोहम्मद तानवीरले ३३, साहजैव जामिलले २४ र मोहम्मद इस्रहवले २२ तथा मोहम्मद अहनावले १६ रन हाने । बलिङतर्फ मलेसियाका लागि भिरन्दीप सिंहले २ विकेट लिए भने मोहम्मद अमिर, विजय उन्नी, पवनदीप सिंह र मोहम्मद वाकिफले समान १–१ विकेट हात पारे ।

यसअघि मलेसियाका लागि अहमद फैजले ३८, मोहम्मद अमिरले ३० तथा कप्तान भिरन्दीप सिंहले २६, सर्विन मुनियान्दीले २३ रन जोडे । बलिङतर्फ हिमांशु राथोडले २ विकेट लिए भने ज्ञान मुनवीरा र विक्रमुल्लाह खानले समान १–१ विकेट हात पारे ।

ताजा अवस्थामा समूह ‘ए’मा नेपाल ३ खेलमा ३ जितसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने साउदी अरेबिया २ खेलमा १ जितसहित २ अंकका साथमा दोस्रो, मलेसिया, कतार र हङकङ ३ खेलमा समान १–१ जितसहित समान २–२ अंकका साथमा क्रमशः तेस्रो, चौथो र पाँचौँ रहेका छन् । समूह चरणमा साउदीबाहेक सबै टोलीले १–१ खेल खेल्न बाँकी छन् ।

यता समूह ‘बी’को अंक तालिकामा ओमान र युइएले समान २–२ खेलमा २–२ जितसहित समान ४ अंक क्रमशः बटुलेर शीर्ष र दोस्रो स्थान बनाएका छन् । यी दुई टोली आज एकआपसमा भिड्दैछन् । विजेता टोली समूह विजेताका रुपमा सेमिफाइनल पुग्नेछ । यस्तै समूह ‘बी’का कुवेत २ खेलमा १ जितसहित २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने बहराइन र कम्बोडियाले २–२ खेल खेल्दा दुवैमा हार व्यहोरेका छन् ।