काठमाडौँ – ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईको सामना गर्ने भएको छ ।


ADVERTISEMENT


बुधबार समूह चरणको अन्तिम खेलमा समूह ‘बी’को आमानले कुवेतलाई हराउँदै समूह विजेता बनेसँगै समूह ‘ए’को विजेता नेपालले समूह ‘बी’को उपविजेता युएईसँग सेमिफाइनल खेल्ने टुंगो लागेको हो ।


ADVERTISEMENT

# # #


नेपाल र युएईबीचको सेमिफाइनल खेल शुक्रबार नेपाली समय अनुसार बिहान ११ः४५ बजे हुनेछ । नेपालले समूह चरणमा ४ वटै खेलमा जित हात पार्दै ८ अंकका साथ समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका थियो । जसअनुसार नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा कतारमाथि ३२ रनको जित हात पारेको थियो ।

यस्तै तेस्रो खेलमा हङकङलाई ४ विकेटले स्तब्ध पारेको नेपालले बुधबार साउदी अरेबियामाथि ६ विकेटको जित निकालेको थियो । यता युएईले ४ मध्ये ३ खेलमा जित हात पार्दै ६ अंकका साथ समूह ‘बी’को उपविजेता बनेको हो । युएईले बहराइन, कुवेत र कम्बोडियालाई हराएको थियो भने ओमानसँग पराजित भएको थियो ।

यता समूह चरणका ४ वटै खेलमा जित हात पारेको ओमान समूह ‘बी’को विजेता बनेको छ । ओमानल सेमिफाइनलमा समूह ‘ए’को उपविजेता हङकङसँग खेल्नेछ । हङकङले समूह चरणमा नेपाल र कतारसँग हात व्यहोरेको थियो भने साउदी खरेबिया र मलेसियालाई हराएको थियो ।

१० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कपको विजेता टोली अर्को वर्ष हुने एसएसी टी–२० एशिया कपमा छनोट हुनेछ । साविक विजेता नेपाललाई उपाधि रक्षा गर्ने चुनौती रहेको छ । यसअघि नेपालले गत वर्ष घरेलू मैदानमा युएईलाई हराउँदै पहिलो पटक एशिया कपमा छनोट भएको थियो ।