काठमाडौँ – ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा टस जितेर युएईले बलिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । प्रतियागिताको समूह ‘ए’मा रहेको नेपाल समूह चरणमा अविजित रहँदै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।


ADVERTISEMENT

# # #


यता समूह ‘बी’को युएई ४ खेलमा ३ जितसहित उपविजेताका रुपमा सेमिफाइनलमा नेपालसँग भिड्न लागेको हो । फाइनलमा स्थान बनाउन दुवै टोलीलाई जित अनिवार्य रहेको छ । पछिल्लो समय युएईविरुद्ध हावी हुँदै आएको नेपाल आफ्नो लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । यता नेपालकै कारण विगत एक वर्षदेखि धेरै अवसर गुमाएको युएई ती सबैको बदला लिने दाउमा रहेको छ ।

एसीसी प्रिमियर कपमा १० टोली सहभागी थिए । नेपाल समूह ‘ए’मा रहेको थियो । जहाँ हङकङ, कतार, मलेसिया र साउदी अरब समेत रहेका थिए भने समूह ‘बी’मा आयोजक ओमानसहित युएई, बहराइन, कुवेत र कम्बोडिया रहेका थिए । जसमध्ये समूह ‘ए’बाट समूह विजेताका रुपमा नेपाल र समूह उपविजेताका रुपमा हङकङ सेमिफाइनलमा पुगेका हुन् भने समूह ‘बी’ समूह विजेताका रुपमा ओमान र समूह उपविजेताका रुपमा युएई सेमिफाइनल पुगेका छन् ।

आजै हुने अर्को सेमफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको उपाधि जित्ने टोली अर्को वर्ष हुने टी–२० एशिया कपका लागि छनोट हुनेछ । यसअघिको विजेता नेपालले उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक एशिया कपमा पुग्ने लक्ष्य राखेको छ ।

युएईविरुद्ध नेपालको अन्तिम-११:
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल (कप्तान) गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, करण केसी, अविनाश बोहरा, सोमपाल कामी र ललित राजवंशी ।