काठमाडौं-सरकारले आउँदो चैतदेखि जिल्ला सदरमुकाममा रहेका अधिकांश कार्यालय नरहने बताएको छ । सदरमुकामबाट खारेज भएर स्थानीय तहमा समायोजन हुन लागेका हुन् । खारेज हुने निश्चित भएका सरकारी कार्यालयका भवन भने सदरमुकाम धुन्चेमा धमाधम निर्माण भइरहेका छन् ।
सदरमुकाममा नरहने निश्चित भएका कार्यालय मध्य जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, सहरी विकास तथा भवन सव डिभिजन कार्यालय, महिला तथा बालबालिका कार्यालय र सिंचाइ विकास सव डिभिजन कार्यालयको भवन निर्माण भइरहेको छ ।
स्थानीय तह हुनुभन्दा अगाडि नै उक्त भवनको डिजाइन भइ ठेक्का लागिसकेकाले निर्माण भइरहेको सहरी विकास तथा भवन सवडिभिजन कार्यालयका प्रमुख धिर फडेराले बताए । ‘महिला तथा बालबालिका कार्यालय भवन मन्त्रालयबाट निर्माण भएको हो,’ फडेराले भने, ‘अन्य कार्यालय भवन भूकम्पले क्षति गरेको हुनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माण भइरहेको छ ।’
सदरमुकाममा नरहने निश्चित भएका कार्यालयको भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट करोडौं बजेट आएको छ । ती भवनको काम २० प्रतिशत सकिएको छ । अहिले निर्माण भइरहेका कार्यालय दुई वर्षभित्र सम्पन्न हुनेछ । जिल्लाका कार्यालय स्थानीय तहमा समायोजन हुने कार्यक्रम आउनु पूर्व नै भवन निर्माणको कार्यक्रम सुरु भएको सहरी विकास तथा भवन सव डिभिजन कार्यालयले जनायो ।
खारेजीको तयारीमा रहेका जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र मालपोत कार्यालय गत वर्ष नै निर्माण सम्पन्न भइसकेका छन् । सरकारले भनेअनुसारको हुने हो भने चैत महिनापछि निर्माण सम्पन्न भएका र निर्माणाधीन भवन प्रयोगमा आउने देखिँदैन ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख दिनेशबाबु तिवारीले कार्यालय खारेजको बारेमा माथिबाट अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको बताए । ‘हामीले पनि हल्ला सुनेका छौं चैतबाट कार्यालय खारेजी हुन्छ,’ उनले भने । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. विनोद कट्टेलको भनाइ पनि उस्तै रहेको छ । कार्यालय खारेजीको बारेमा अहिलेसम्म माथिबाट कुनै निर्देशन नआएको उनले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत भवन निर्माण भइरहेको उनले जानकारी दिए ।आजको कान्तिपुरबाट