जनकपुरधाम – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता र प्रतिलिपी प्रदान गर्ने तत्कालीन दुई कर्मचारीविरुद्व पनि पक्राउ पूर्जी जारी भएको छ ।
प्रहरीले जिल्ला अदालत धनुषाबाट सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पनि पक्राउ पूर्जी लिएको हो ।
कैलाशले ०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।
सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए । उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।
सिरोहिया हिरासतमा रहेका बेला अनुसन्धानका लागि प्रतिलिपी जारी गरेका तत्कालीन शाखा अधिकृत दाहाललाई पनि धनुषा प्रहरीले बोलाएका थिए । ‘दाहालले दिएको बयान र प्रहरीले गरेको अनुसन्धानबीच तालमेल देखिएको छैन’, एक प्रहरी अधिकारीले भने, ‘यो गम्भीर विषय बनेको छ । त्यसैले हिरासतमा लिएर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमती दिइसकेको छ ।’
सिरोहियालाई नागरिकता ऐन २०२० अनुसार वंशजको नागरिकता दिइएको नागरिकतामा उल्लेख छ । तर नागरिकता जारी भएको मितिसम्म उक्त ऐन लागु भएकै थिएन । त्यसैले तत्कालीन शाखा अधिकृत दाहाल अनुसन्धानमा तानिएका एक प्रहरी अधिकारीको भनाई छ ।
नागरिकता किर्तेसम्बन्धि जेठ ८ गते पक्राउ परेका सिरोहिया ९ दिनपछि हिरासतमुक्त भइसकेका छन् ।