काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदको आगामी बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी गराउनु माग गरेका हुन् ।
उहाले प्रधानमन्त्री विदेश भ्रमणमा जादा नै आफ्नो कार्यक्रमबारे सदनमा जानकारी गराउने अभ्यास रहेपनि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आएका पाँच दिन हुँदा पनि सदनमा कुनै जानकारी प्राप्त नभएको धारणा राखे ।
लेखकले राष्ट्रपतिको विदेश भ्रमणका बारेमा पनि सदनमा जानकारी गराउन पनि माग गरे । देशको राष्ट्रपति, प्रधानमन्त्रीको विदेश भ्रमणका बारेमा पत्रपत्रिकाबाट थाहा पाउने अवस्था दुर्भाग्य भएको उनको भनाइ छ ।
लेखकले सरकारका कारणले संसदको न्यूनतम मर्यादा कायम हुन नसकेकाले खेद व्यक्त गर्नुपर्ने बताए । केहि समयपहिला गृहमन्त्रीले सदनमा रहेका नेताहरुमाथि लाञ्छना लगाउने काम भएको भन्दै गृहमन्त्रीको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले जनाए ।
उनले कांग्रेसले उठाएका विषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि रुलिङ गर्न माग गरे ।



























































