हेटौँडा  – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


आइतबार १५औँ नगरसभा बैठकमा हेटौँडाका उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा रु ४६ करोड ७२ लाख २० हजार रुपैयाँ अर्थात् १६ दशमलव ०७ प्रतिशत कम बजेट प्रस्ताव गरे । उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, सङ्घ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताए ।


ADVERTISEMENT

# # #


आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको अनुदानबाट रु एक अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट रु ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट रु ११ करोड १७ लाख रुपैयाँ रहेको छ ।

उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ रु ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ रु सात करोड ५६ लाख, सामाजिक विकासतर्फ रु ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु दुई करोड ५१ लाख विनियोजन गरिएको समेत बानियाँ जानकारी दिए ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि रु दुई करोड आठ लाख, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि रु एक करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि रु दुई करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ,

आजको नगरसभाले नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१/०८२ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मत रूपमा पारित गरेको छ ।