काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेट पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएको छ ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले बजेटप्रति चौतर्फी असन्तुष्टि देखापरेको भन्दै बजेट पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
‘मन्त्रालयगत विनियोजनमा जाँदै गर्दा साह्रै लज्जास्पद स्थिति देखा पर्यो । नेपालको इतिहासमा विरलै भएका घटना हिजो भए । रोष्ट्रममै बजेटको कपी च्यातिएको छ । मौन धारण भएको छ ।’ उनले भने, ‘सत्ता पक्षकै सांसदले बजेटको कटु आलोचना गरिरहेको स्थिति छ । सदनभित्र कुनै एक जना सांसद पनि यो बजेटको विनियोजनसँग सन्तुष्ट हुनुहुन्न । यो बजेट पुनर्लेखन गर्न अनुरोध गर्न चाहन्छु ।’
उनले बजेटमा देखिएको असन्तुष्टि नसच्चाए सरकारको बारेमा जनताको धारणा राम्रो नहुने जिकिर गरे । मन्त्रालयगत छलफलका क्रममा बजेट पुस्तिका च्यात्ने, रोष्टममा मौन बस्ने लगायतका क्रियाकलाप निकै लज्जास्पद भएको उनको भनाई छ ।
उनले सुदूरपश्चिम लगाएत पूरै देशभर विनियोजन गरिएको बजेटमा कुनै सांसदले पनि चित्त बुझाउन नसकेको धारणा राखे ।



























































