काठमाडौं-राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले यसै महिनाभित्र ल्याउने वाई १२ सिरिजका दुई वटा जहाज उडाउन अहिलेसम्म पाइलट व्यवस्थापन गर्न सकेको छैन । यसअघि चीनबाट ल्याइएका दुई वटा जहाज पनि निमगसँग छन् ।


ADVERTISEMENT


नेपाल एयरलाइन्ससँग वाई-१२ सिरिजका जहाज उडाउने दुई जना मात्रै पाइलट छन् । उनीहरूलाई सात जना कोपाइलटले सघाउँछन् । पाइलट अभावका कारण नयाँ जहाजले तत्काल उडान गर्न नसक्ने देखिएको छ । अहिले दुई वटा वाई-१२ जहाज उडाइरहेका पाइलटलाई थप दुई जहाज उडाउने जिम्मावारी पनि थपिने भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले अहिले वाई-१२ सिरिजका जहाज उडानका लागि दुई जना मात्रै पाइलट रहेको स्वीकारे । ‘नेपाल र चीनबीचको पुरानो सम्झौताका कारण पाइलट अभाव भए पनि जहाज ल्याउनैपर्ने वाध्यता छ’, उनले भने। नेवानिले पाइलटका लागि विज्ञापन पनि गरिसकेको छ ।

चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेका वाई-१२ सिरिजका दुई वटा नयाँ विमान काठमाडौं आएसँगै नेवानिसँग चार वटा वाई-१२ जहाज हुनेछन् । अहिले रहेको दुई वटा जहाजमार्फत निगमले काठमाडौंबाट पोखरा, भैरहवा र सिमरामा उडान गर्दै आएको छ ।

नेपालको दुर्गम क्षेत्रमा समेत उडान गर्न सकिने जहाज नेवानिको व्यवस्थापनले पाइलट अभाव हुँदा काठमाडौंलाई नै ‘बेस’ बनाएर पोखरा र भैरहवा उडान गर्दै आएको श्रेष्ठ स्वीकार गर्छन् । २०६९ सालमा नेपाल र चीनबीच ६ वटा जहाज ल्याउने सहमति भएको थियो । ६ जहाजमध्ये दुई वटा एमए ६० र चार वटा वाई १२ हो । त्यसमा दुई वटा अनुदान र चार वटा सहुलियत ऋणमा जहाज ल्याउने सहमति भएको थियो ।- आजको अन्नपुर्णबाट