काठमाडौं-नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन–टु अन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।


ADVERTISEMENT


पहिलो खेलमा हिजो घरेलु टोली नामिबियामाथि १ विकेटको सनसनीपुर्ण जित हात पारेको नेपाल, प्रतियोगीताको दोस्रो जित हात पार्दै शीर्ष दुईमा पुग्ने लक्ष्यमा छ । ओमान भने नेपालमाथि जित निकाल्दै प्रतियोगिताको पहिलो जित निकाल्ने दाउमा रहेको छ ।


ADVERTISEMENT

# # #


ओमान आफ्नो पहिलो खेलमा हिजो क्यानडासँग ८ विकेटले पराजित भएको थियो । खेल नामिबियाको विन्डोकस्थित एफेईस पार्क मैदानमा नेपाली समयानुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । पहिलो खेलमा हिजो नामिबियाविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाललाई त्यसमा व्यापक सुधार गर्नुपर्ने मुख्य चुनौती देखिएको छ ।

अघिल्लो र मध्यक्रमका ब्याट्सम्यानले सोच अनुरुपको व्याटिङ गर्न नसक्दा पछिल्ला क्रमका ब्याट्सम्यानले नेपाललाई हारको स्थितिबाट उकासेका थिए । ओमानविरुद्धको खेलमा पहिलो खेलमा भएका गल्ती सुधार्दै, आफ्नो क्षमता अनुरुपको खेल प्रदर्शन गर्ने कप्तान पारस खड्काले बताएका छन् ।

ओमानी कप्तान सुल्तान अहमदले नेपाली टोली बलियो भएपनि टोलीमा भएका कमजोरीको फाइदा उठाउँदै अंक जोड्न मैदान उत्रने बताएका छन् । आजै क्यानडा र युएई तथा नामिबिया र केन्याबीच पनि प्रतिस्पर्धा हुनेछ ।