काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो ।
५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन् । यसैगरि दुई सय २१ जनाको परीक्षा रद्द भएको जनाइएको छ ।
एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म भएको थियो । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक-फरक रूपमा गर्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले दिएको जानकारी अनुसार १८६ जनाले ४ जिपिए ल्याएका छन् ।
विद्यार्थीले आफ्नो मोबाइलको म्यासेज बक्समा गइ <space> लेखि ३४९४९ मा पठाई २०८० को नतिजा हेर्न सक्नेछन् ।



























































