काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको ९९ जना केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ । रास्वपा केन्द्रीय निर्वाचन समितिले ९९ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यमा एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् । सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेस प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ३१ जना, कोसी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ३१ जना, बागमती प्रदेशमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।
रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत करिब ४ हजार प्रतिनिधि सहभागी छन् । आयोगका अनुसार एउटा व्यक्तिलाई भोट हाल्न १५ मिनेट लाग्नेछ । भोटिङका लागि ८० वटा मेसिन राखिएको छ । मतदान साढे ८ बजेबाट सुरु गर्ने तयारी गरिएको छ । यद्दपी दावीविरोधपछि मात्रै उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने भएकाले विद्युतीय मतदान प्रणालीमा नाम प्रवृष्टि गर्न केहि समय लाग्ने देखिएको छ ।
एक व्यक्तिलाई ढिलोमा १५ मिनेट लागे पुरै मतदान सकिन कम्तिमा ८ देखि १० घण्टा लाग्ने निर्वाचन आयोगले जनाएको छ भने रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भैइसकेका छन् ।



























































