काठमाडौं- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
बुधबार ललितपुरमा आयोजित महानगरको नवौं नगरसभामा महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । चालू आर्थिक बर्षका लागि महानगरले ७ अर्व ४७ करोड ४१ लाख ६७ हजारको बजेट ल्याएको थियो । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च गर्नेगरी आगामी आर्थिक वर्षका लागि चालू खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरेको उनले बताएकी छिन् ।
त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको उनले बताईन् । उनले कला, संस्कृति तथा सम्पदाको समुचित संरक्षण र सम्वद्र्ध, स्थानीय स्रोत साधनको संरक्षण र समुचित परिचालन तथा सार्वजनिक जग्गाको संरक्षण, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनमा बजेटले जोड दिएको बताएकी छिन् ।
त्यसैगरी सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गता मैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बाल मैत्री व्यवहार तथा व्यवस्था, विपत जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकास मार्फत रोजगार प्रवद्र्धन तथा गरीबी न्यूनीकरण लगाएतमा समेत महानगरले बिशेष प्राथमिकता दिएको उनले जानकारी दिएकी छिन् ।



























































