काठमाडौं- नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित ग्लोकल प्रा. लि. र विश्वप्रसिद्ध शैक्षिक संस्था टाईम्स हाईअर एजुकेशन बीच रणनीतिक सहकार्यको सम्झौता भएको छ।


ADVERTISEMENT


इन्डोनेसियाको जकर्तामा आयोजित ग्लोबल सस्टेनेबल डेभलभमेन्ट काङ्रेस २०२६ का क्रममा सम्पन्न उक्त सम्झौतामा ग्लोकलका अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रीय अध्यक्ष मेई मेई लिमले ले हस्ताक्षर गरेका हुन्।


ADVERTISEMENT

# # #


दर्शकवृन्द, यस सहकार्यअन्तर्गत नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रियकरण, प्रभाव मूल्याङ्कन, नीतिगत परामर्श तथा संस्थागत विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिने बताइएको छ। यसबाट नेपालका विश्वविद्यालय तथा सरकारी निकायले विश्वस्तरीय अभ्यास, तथ्याङ्कमा आधारित निर्णय प्रक्रिया र अन्तर्राष्ट्रिय र्याङ्किङसम्बन्धी सहयोग प्राप्त गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने ‘स्टडी इन नेपाल’ अभियानलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने विषयमा समेत सहकार्य गरिने जनाइएको छ।

ग्लोकलका अध्यक्ष आशिष ठाकुरले अन्तर्राष्ट्रिय सहकार्य र विश्वस्तरीय ज्ञान आदानप्रदानमार्फत नेपाली विश्वविद्यालयहरूको क्षमता अभिवृद्धिमा यो साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ। साथै, नेपाललाई क्षेत्रीय शिक्षा तथा ज्ञान केन्द्रका रूपमा स्थापित गर्न पनि यसले टेवा पुग्ने उनको भनाइ छ।

यता, टाइम्स हायर एजुकेसनकी मेई मेई लिमले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना बोकेको देश भएको बताउँदै विश्वविद्यालय, सरकार र सरोकारवालाबीचको सहकार्य विस्तारमा आफ्नो संस्था प्रतिबद्ध रहेको बताएकी छिन्।

शिक्षा, अनुसन्धान, सीप विकास, रोजगारीयोग्यता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखिएको यो साझेदारीलाई नेपालको उच्च शिक्षा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।