काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको गरिमालाई बिथोल्न खोज्ने प्रयत्नलाई सबै मिलेर परास्त गर्नुपर्ने बताएका छन् ।
संसद दिवसका अवसरमा आइतबार संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसदको इतिहासलाई बुझ्दै अघि यसलाई प्रभावकारी बनाउनुपर्ने र संसदको गरिमालाई बिथोल्न खोज्ने प्रयत्नलाई सबै मिलेर परास्त गर्नुपर्ने बताएका हुन् । संसदीय मूल्यमान्यताका आधारमा संसदमा अघि बढाउन नसक्नुको कारणबारे सवैले बहस गर्नुपर्ने उनले बताए ।
सभामुख घिमिरेले संसदको काम अघि बढाउदा बाधा र कमजोरी देखिएको भन्दै सदन, सरकार र सांसदहरुले आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गर्नुपर्ने धारणा राखे । उनले संसद् केवल कानुन थलो मात्रै नभएको भन्दै राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र पनि रहेको बताए ।
सभामुख घिमिरे बजेट लगाएत सदनमा हुने छलफललाई व्यवहारिक बनाउनुपर्ने र छलफलबाट आएका निष्कर्षहरुलाई समावेश गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने बताए ।
त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले जनताको जनजिविकाको सवालमा सांसदहरुले आफ्नो भूमिका खोज्नुपर्ने बताए । आफ्नो क्षेत्रमा बजेट लैजाने कामले मात्रै सांसदहरुको भूमिका पूर्ण नहुने उनको भनाई छ ।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।
मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ



























































